कञ्चनपुर, २७ साउन : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आरक्षपीडितको समस्या सधैँका लागि समाधान गरिने बताउनुभएको छ ।
आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले आरक्ष विस्थापितको समस्या समाधानका लागि ३१ वटा आयोग गठन भएको चर्चा गर्नुहुँदै ३२औँ आयोग गठन गर्न नपर्नेगरी समस्या समाधान गरिने बताउनुभयो ।
“धेरै आयोग गठन भए, राज्यको धेरै रकम पनि खर्चियो तर समस्या समाधान भएन”, उहाँले भन्नुभयो, “अब ढुक्क हुनुहोस् सधैँका लागि समस्या समाधान हुने गरी पहल गरिरहेको छु ।” अव्यवस्थित बसोबासी र भूमिहीनको समस्या समाधानका लागि जग्गा नापजाँचको कार्य भइरहेको उहाँले बताउनुभयो ।
वर्षौँदेखि जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका अव्यवस्थित बसोबासीका हातमा छिट्टै जग्गाधनी प्रमाण पुर्जा दिइने उहाँले बताउनुभयो । छिटो–छरितो काम गर्नका लागि कर्मचारी व्यवस्थापनको कार्य गरिएको उहाँको भनाइ थियो ।
जनतासँग चुनावका बेला गरेका प्रतिबद्धता पूरा गर्ने उहाँले बताउनुभयो । भेटघाट कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री साउदले जनताका समस्या क्रमिकरूपमा समाधान गरिने उल्लेख गर्नुभयो ।
मन्त्री साउदले निर्वाचन क्षेत्रका ५० जना युवालाई ‘फ्रि भिसा, फ्रि टिकट’मा वैदेशिक रोजगारीमा पठाएको बताउनुभयो । उहाँले क्रमिकरूपमा युवालाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाइने बताउनुभयो ।
नदी कटानको समस्या समाधानका लागि महाकाली तेस्रो चरणको परियोजनामै योजना समावेश गरिने उहाँले बताउनुभयो । बाटाघाटा, पुलपुलेसा छिट्टै निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कलुवापुर–बेलौरी सडकखण्ड निकुञ्जभित्रको सडककोे विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर काम अगाडि बढाइने बताउनुभयो ।
उहाँले ढल निकासका लागि वनसमितिबाट कलुवापुरसम्म डिपिआर तयार गरेर काम अगाडि बढाइने बताउनुभयो । भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले नदीमा तटबन्ध, पुल निर्माण, सडक कालोपत्र, युवालाई रोजगारी, ढल निकासको व्यवस्थाका लागि योजना ल्याउन मन्त्री साउदलाई आग्रह गरेका थिए ।






