तनहुँ २६ साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । जिल्लाको ऋषिङ्गको–४ मधुवन र ५ रुपटार मधुवन जोड्ने ज्वाला खोलामा निर्मित पक्की पुलको आज उदघाटन गर्दै उहाँले पूर्वाधार विकासमा प्रदेश सरकारले चासो दिएर काम गरिरहेको स्पष्ट पार्नुभयो ।
कूल रु तीन करोड २१ लाखको लागतमा २५ मिटर लम्बाइको पक्की पुल निर्माण हालै सम्पन्न गरिएको हो । “अहिले पुल उदघाटन गर्न आएँ, छिट्टै यसै क्षेत्रमा सिँचाइ आयोजनाको पनि उदघाटन पनि गर्न आउनेछु”, उहाँले भन्नुभयो ।
गाउँमा विकास हुने तर बसाइसराइँका कारण गाउँ रित्तिँदै गएकोतर्फ मध्यनजर गर्दै नागरिकले औलो उठाउने किसिमले कुनै पनि विकास निर्माण नगरिने उहाँले बताउनुभयो । सोही वडास्थित दुई सय वर्ष पुरानो गढ्केश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो ।
नवलपुरको बुलिङ्गटार–६ र ऋषिङ्ग गाउँपालिका–५ को पिपलटार–अत्रौली जोड्ने पक्की मोटरेवल पुल बन्ने स्थलको निरीक्षण गर्दै प्रदेश सरकारले कठिनाई अवस्थामा पनि रु ४२ करोड बिनियोजन गरेको उहाँको भनाइ छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेले ऋषिङ्ग–५ पिपलटारमा निर्माणधीन औद्योगिक ग्रामको पनि अवलोकन गर्नुभएको थियो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जालीले गण्डकी प्रदेश सरकारले विकास र पूर्वाधारलाई प्राथामिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । सो अवसरमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतप्रकाश आले, भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसी लगायत सहभागिता थियो ।






