लुम्बिनी, २६ साउन : लुम्बिनी बौद्ध विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले बुटवलमा स्नातक तहमा हस्पिटालिटी एण्ड टुरिजम विषयको संयुक्त शैक्षिक कार्यक्रम सुरु गरेका छन् ।
संयुक्त अध्ययनको शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले आज बुटवलमा एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो । त्यस अवसरमा उहाँले पर्यटन विषयमा दक्ष जनशक्ति उत्पादनका लागि दुई विश्वविद्यालयले सुरु गरेको शैक्षिक कार्यक्रम कोसेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले बुद्ध शिक्षा र पर्यटन एकापसमा परिपूरक रहेको र बौद्ध विश्वविद्यालयले पर्यटन क्षेत्रलाई चलायमान बनाउन शिक्षा क्षेत्रबाट महत्त्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति डा तिलकराम आचार्यले काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादनका लागि यो कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका विषय समिति अध्यक्ष उज्ज्वल सत्यालले विश्वविद्यालयले अब सीपयुक्त जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन डा हरिशरण चंखुले विश्वविद्यालयहरूबीच टीमवर्कमा कार्य गर्न आवश्यक रहेकाले काठमाडौँ विश्वविद्यालयसँग सहकार्यमा शैक्षिक कार्यक्रम सुरु गरिएको बताउनुभयो ।
नयाँ सुरु भएको कार्यक्रममा यसै शैक्षिक सत्रबाट भर्ना सुरु गरिने जनाइएको छ । दुई विश्वविद्यालयको सहमतिअनुसार बुटवलको सिटी क्याम्पसमा पठनपाठन हुनेछ ।