काठमाडौं, १ साउन : नेपाली कांग्रेसले यही साउन २ गतेदेखि सुरु हुने केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समिति बैठकका लागि विभिन्न १० कार्यसूची तय गरेको सहमहामन्त्री फर्मुल्लाह मन्सुरले राससलाई जानकारी दिनुभयो ।
बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ ।
यसैगरी विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरिएको उहाँले बताउनुभयो ।
बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठकको पार्टीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रमुख सचेतक रमेश लेखकले केन्द्रीय कार्य समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने वा नगर्ने भन्ने विषयमा पनि आज छलफल भएको बताउनुभयो । “यो बैठकको कुन प्रक्रियाबाट गरिन्छ यो विषय पनि छलफलमा छ । बन्द रूपमा हुने वा खुलेर बोल्न सहज हुने । तर, के पनि छलफल गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।