काठमाडौँ, ८ जेठ : नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले नीति तथा कार्यक्रमको बुँदा नं १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति जनाउनुभयो । उहाँले यो शब्द नेपाली कांग्रेसलाई मान्य हुन्छ कि हुँदैन ? भनी प्रश्न गर्नुभयो ।
नेता भट्टराईले नेपाललाई एउटा समतामुखी राज्यका रुपमा विकास गर्न महिला, दलित, पिछडिएको क्षेत्र र राज्यको मूलप्रवाहीकरणमा समेटिन नसकेका व्यक्तिका लागि नीति तथा कार्यक्रममा विशेष कार्यक्रम हुनुपर्ने बताउनुभयो ।
हिमाली र पहाडी क्षेत्रबाट मानिस तराई र ठूला सहरमा बसाइँसराइँ गरिरहेको उल्लेख गर्दै उहाँले हिमाल र पहाडमा स्थानीय मानिसलाई अड्याउन सकिएन भने देशको संरचना के हुन्छ ? भनी प्रश्न गर्नुभयो ।
मध्यपहाडी पुष्पलाल राजमार्गको निर्माण बसाइँसराइँ रोक्नका लागि गरिएको बताउँदै उहाँले मधेसका उर्वर भूमि खण्डित र बिक्री नहोस् भनेर आफूहरुले त्यो अवधारणा ल्याएको जिकिर गर्नुभयो । रासस






