ढोरपाटन, ३ जेठ : बागलुङको ढोरपाटन नगरपालिका कृषकलाई आधुनिक प्रविधिसँग जोड्न कृषि औजार वितरण गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रकमबाट कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराएको हो । कृषकलाई घाँस तथा पराल र छवाली काट्ने इलेक्ट्रिक चापाकटर, मिनीटेलर हलो र प्लास्टिक टनेल उपलब्ध गराएको नगरपालिकाका कृषि शाखा प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
व्यक्तिगत कृषि दर्ता गरेका कृषक, सहकारी र कृषि समूहलाई यसपटक कृषि औजार उपलब्ध गराइएको अधिकारीको भनाइ छ । सत्रवटा चापाकटर, १८ वटा मिनिटेलर हलो, एक सय ४४ वटा प्लास्टिक टनेल वितरण गरेको उहाँले बताउनुभयो । सबै औजार ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको अधिकारीले बताउनुहुन्छ । कृषक र समूहले माग गरेअनुसार कृषि औजार नगरपालिकाले खरिद गरेर वितरण गरेको अधिकारीको भनाइ छ ।
उहाँले भन्नुभयो, “नगरपालिकाले कृषकलाई आवश्यक औजार माग गर्नका लागि सूचना आह्वान गरेका थियौँ, सोहीअनुसार रु तीन लााख ५० हजारको चापाकटर, साढे चार लाखको मिनीटेलर र साढे चार लाखकै प्लास्टिक टनेल वितरण भएको छ, कृषि सामग्री पाएपछि कृषक हर्षित हुनुभएको छ, यसले उहाँहरूलाई उत्पादन बढाउन मद्दत पुग्ने छ भने थप सक्रिय भएर कृषिकर्ममा लाग्न प्रेरणा मिल्ने छ ।”
कृषि औजार प्राप्त गर्नुभएका रुद्रावती कृषि सहकारी संस्थाका अध्यक्ष रेशमराज रेग्मीले नगरपालिकाले दिएको औजारले ग्रामीण क्षेत्रमा घाँस काट्न किसानलाई ठूलो मद्दत पुग्ने बताउनुभयो । उहाँले आधुनिक प्रविधिको विकाससँगै कृषिमा पनि आधुनिकीकरण हुन जरुरी रहेको भन्दै नगरपालिकाले कृषकलाई प्रविधिसँग जोड्न थालेको बताउनुभयो ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत कल्याणले कृषिमा आधुनिकीकरण गर्न कृषकलाई आधुनिक औजार वितरण गरेको बताउनुभयो । कृषि उपकरणले कृषकको समय बचत हुनुका साथै उत्पादन बढाउन टेवा पु¥याउने अपेक्षा लिएको उपप्रमुख कायतको भनाइ छ । परम्परागतरूपमा पशुपालन र खेतीपाती गर्दा परनिर्भरनै हुनुपरेको भन्दै अब हरेक कृषकलाई प्रविधिसँग जोड्ने उहाँले बताउनुभयो । रासस