लुम्बिनीमा सरकार गठनका लागि आह्वान

  बैशाख १२, २०८०

लुम्बिनी, १२ वैशाख : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सोमबार प्रदेशसभामा प्रस्ताव गर्नुभएको विश्वासको मत मत पाउन नसकेपछि नेकपा ९एमाले० नेतृत्वको सरकार ढलेको हो । संविधानको धारा १८६ को उपधारा २ बमोजिम एमाले संसदीय दलका नेता मुख्यमन्त्री गिरी नेतृत्वमा गठित सरकारले सोमबार विश्वासको मत पाउन नसकी ढलेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको हो ।

विज्ञप्तिमा २०७७ साल फागुन ११ गते सर्वोच्च अदालतबाट गरिएको संवैधानिक व्याख्याअनुसार दुई वा सोभन्दा बढी दलबाट सरकार गठन हुनसक्ने नयाँ समीकरण सिर्जना भएमा त्यस्तो सरकार बनाउन सक्ने विकल्प प्रतिनिधिसभाभित्र खोज्नुपर्ने धारा ७६ को समष्टिगत उद्देश्य मनसाय रहेको भन्ने नजीरलाई मध्यनजर राख्दै धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रह्लाद पोखरेलले आज साँझ जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया