लुम्बिनी, १२ वैशाख : नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन सकेको छैन ।
प्रदेश प्रमुख अमिक शेरचन कानुनी परामर्शमा रहनुभएकाले सरकार गठनका लागि आह्वानमा ढिलाइ भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । नेपालको संविधान धारा १६८ बमोजिम प्रदेश प्रमुखले प्रदेश सरकार गठनसम्बन्धी व्यवस्था छ ।
नेकपा ९एमाले० संसदीय दलका नेता तथा मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभामा विश्वासको मत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढलेको हो । त्यसलगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठन हुनुपर्ने भन्दै प्रदेश प्रमुखलाई सोहीअनुसार आह्वान गर्न अनुरोध गरेको थियो ।
त्यसअघि एमाले संसदीय दलको बैठकले पनि धारा १६८ को उपधारा २ अनुरुपको सरकार निर्माण भएर विश्वासको मत गुमाएपछि स्वभाविकरुपमा उपधारा ३ अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्ने आफूहरुको दाबी रहेको एमाले प्रमुख सचेतक तुल्सी चौधरीले बताउनुभयो । विपक्षी आठ दलले धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन दाबी पेश गरेपछि प्रदेश प्रमुख शेरचनले परामर्श थाल्नुभएको हो ।
रासस






