रामपुर, १० वैशाख : बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक÷एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख ओमबहादुर मश्राङी बताउनुहुन्छ ।
“बाख्रापालनको राम्रो सम्भावना बोकेको यस गाउँपालिकामा व्यावसायिक बाख्रापालनमा किसानले जोड दिएकाले बाख्रापालनमा सहयोगका कार्यक्रममा प्राथमिकता दिइएको छ”, उहाँले भन्नुभयो । पकेट कार्यक्रममा यहाँका एक सय ३४ घरपरिवार सहभागी छन् ।
परियोजनाको सहयोगमा ५५ जनालाई माउ बाख्रा तथा अन्य किसानलाई तालिम, आवश्यकताका आधारमा औषधि, घाँसको बीउलगायत सामग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७९÷८० मा पालिकाबाट विनियोजित रु पन्ध्र लाख र सङ्घीय सरकारको रु दश लाख सहयोगमा माउ बाख्रा तथा बोका, विभिन्न मेसिनरी सामग्री किसानलाई उपलब्ध गराइएको छ ।






