बर्दिबासमा आधुनिक दन्त अस्पताल

  चैत ११, २०७९

महोत्तरी, चैत ११ : महोत्तरीको बर्दिबासमा अत्याधुनिक सेवासहितको दन्त अस्पताल सञ्चालन भएको छ । ओम समाज डेन्टल हस्पिटल काठमाडौँको सेवा मधेसमै प्रवाह गर्न स्थापित ओम समाज डेन्टल हस्पिटल बर्दिबासले आज एक समारोहबीच सेवा सुरु गरेको हो ।

कुशल विमान चालक क्याप्टेन विजय लामा, प्रसिद्ध नेपाली कलाकार निखिल उप्रेती, अस्पताल सञ्चालक डा सुभाषकुमार घिमिरे, मधेस प्रदेशसभा सदस्य शारदादेवी थापा र बर्दिबास नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले संयुक्तरुपमा अस्पताल (हस्पिटल)को उद्घाटन गर्नुभयो ।

अस्पतालमा अत्याधुनिक प्याथोलेजी ल्याब, ओपिजी एक्सरे (मुखभित्रका सबै अवस्था देखाउनसक्ने), दाँत इनप्लान्ट र अनुहारको सौन्दर्य उपचार (कस्मेटिक उपचार)को व्यवस्था रहेको छ । अस्पतालमै फार्मेसी सुविधासमेत रहेको ओम समाज डेन्टल हस्पिटल बर्दिबासका मुख्य प्रशासक अजय रेग्मीले जानकारी दिनुभयो ।

मधेसको करिब मध्यभागमा पर्ने बर्दिबासमा सञ्चालनमा आएको यो अस्पतालले अब यस भेगका बासिन्दालाई मुखसम्बन्धी समस्याको उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पताल सञ्चालनमा सहयोग बढाउन मेधावी बचत तथा सहकारी संस्था पनि सञ्चालनमा ल्याइएको छ ।

यो सहकारीको पूरै मुनाफा गरिब तथा असहायको उपचारमा खर्चने अस्पतालका सञ्चालक डा सुभाषकुमार घिमिरेले प्रतिबद्धता जनाउनुभयो । “अस्पताल सञ्चालनका लागि सामान्य शुल्क राखिए पनि अर्थाभावले उपचार गराउन सकिएन भन्ने कसैले गुनासो गर्ने अवस्था आउन दिइन्न”, डा घिमिरेले भन्नुभयो ।

अस्पतालको सेवा, सुविधालाई सामान्य जनताको पहुँचमा पु¥याउन गरिने प्रयत्नमा आफूहरूको साथसहयोग सधैँ रहने उद्घाटन कार्यक्रममा क्याप्टेन लामा र सिने कलाकार उप्रेतीले प्रतिबद्धता जनाउनुभयो ।

भारतका दन्तविज्ञ प्राध्यापक डा एमएस राजुले अस्पतालको सेवासुविधा दिनदिनै सहज र सुलभ बनाउँदै लगेर आधारभूत तहका नागरिकले ‘यो हाम्रो हस्पिटल’ भन्ने दिन हेर्न आफू लालायित रहने बताउनुभयो ।

बर्दिबासमा यो अस्पताल निर्माणका लागि जग्गा खरिद, भवन निर्माण, आवश्यक उपकरण र प्रारम्भिक व्यवस्थापन खर्चसहित रु छ करोडको लागत रहेको मुख्य प्रशासक रेग्मीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया