रसुवा, चैत ९ : लाङ्टाङ राष्ट्रिय निकुञ्जको स्थापना दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का रसुवाका जिल्ला प्रतिनिधि ज्ञानेन्द्र न्यौपाने ‘संरक्षण पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनुभएको छ । रु २५ हजार नगदसहित कदरपत्रबाट आज उहाँ सम्मानित हुनुभएको हो ।
रसुवाको धुञ्चेस्थित ब्रावल निकुञ्ज परिसरमा आज आयोजित कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले न्यौपानेलाई ‘संरक्षण पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभयो ।
पत्रकारितासँगै निकुञ्जको संरक्षणका विषयमा कविता वाचन गर्दै आउनुभएका उहाँले निकुञ्ज क्षेत्रको वन, वन्यजन्तु, जैविक विविधता संरक्षणमा उल्लेखनीय योगदान गर्दैै आउनुभएको छ ।
संरक्षणमा योगदान दिने निकुञ्ज मध्यवर्तीतर्फ नौकुण्ड उपभोक्ता समितिका अध्यक्ष निमावाङ्चु तामाङ, नेपाल प्रहरीका तर्फबाट प्रहरी सहायक निरीक्षक सुरज केसी एवं निकुञ्ज कर्मचारीको तर्फबाट सिनियर ग्यामस्काउट दिलीप सिं र ग्यामस्काउट गोविन्द थारूलाई समेत नगद तथा कदरपत्रले सम्मान गरिएको प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईले जानकारी दिनुभयो ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली सेरोफेरो समेटी विसं २०३२ मा लाङ्टाङ राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो । लाङ्टाङ राष्ट्रिय निकुञ्जमा एक हजार सात सय १० वर्गकिलोमिटर संरक्षित एवं विसं २०५६ मा लागू भएको मध्यवर्ती क्षेत्र समितिअन्तर्गत चार सय २० वर्गकिलोमिटर भू–भाग समेटिएका छन् ।
निकुञ्ज क्षेत्रमा सहभागितामूलक तवरले संरक्षणकार्य अगाडि बढाउन २१ वटा उपभोक्ता समिति गठन गरिएको सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो ।
सबै क्षेत्रलाई समेटिएको सम्मान पुरस्कारले संरक्षणकार्यमा जागरण बढ्ने र गैरकानुनी क्रियाकलाप गर्ने उपर निगरानी बढाउन सहज हुने निकुञ्ज प्रशासनले विश्वास व्यक्त गरेको छ ।
नेपाली सेना विष्णुदल गणले सुरक्षा दिइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा (हेडपाण्डा) रातो हाब्रे, हिमचितुवा, आस्मिज बाँदरलगायत ४६ प्रजातिका स्तनधारी जनावरका साथै ल्यारेक्स सल्ला, भोजपत्रलगायत सयौँ प्रजातिका स्तनधारी जनावर रहेको बताइएको छ ।
सन् १९८७ मा चन्दनबारीमाथि रातो हाब्रे पत्ता लगाउने स्व डा प्रल्हाद याङ्जेनका साथै हिमचितुवा र आस्मिज बाँदर पत्ता लगाउने वन्यजन्तुविज्ञ डा मुकेश चालिसे एवं उहाँका सहकर्मी निवेश घिमिरेले गरेका योगदानबारेमा चर्चा गरियो ।
स्थापना दिवसका असरमा जिल्लास्तरमा रहेका सबै निकायका प्रतिनिधि, नागरिक समाज, पत्रकारसामु हालसम्म संरक्षणमा भए गरेका कार्यप्रगति प्रस्तुत गरिएको थियो ।






