रुपन्देही, चैत ८ : रोजगारी सिर्जना गर्ने नीति ल्याउन यहाँका शैक्षिक क्षेत्रका अगुवाले सरकारलाई सुझाव दिएका छन् ।
बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवासँग आज गरेको छलफलमा क्याम्पस प्रमुख र अध्यक्षहरूले शिक्षण संस्था बेरोजगार उत्पादन गर्ने थलोका रूपमा परिचित हुने अवस्था आएकाले समयमै सोच विचार गर्न सुझाव दिनुभयो ।
सङ्घ, प्रदेश र स्थानीय सरकारका क्षेत्राधिकारअनुसार रोजगार सिर्जना र आत्मनिर्भर बनाउने गरी नीति र कार्यक्रम ल्याउन उहाँहरूले आग्रह गर्नुभयो ।
विद्यार्थीले न्यूनतम तह पूरा गर्नका लागि मात्रै अध्ययन गरिरहेको र विदेश जानेको सङ्ख्या दिनहुँ वृद्धि हुँदै गएको भन्दै नीति कार्यक्रम ल्याउँदा ख्याल राख्नुपर्ने उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षामा बुटवललाई अग्रणी बनाइराख्न सार्वजनिक तथा निजी क्षेत्रको उत्तिकै भूमिका रहने बताउनुभयो ।
उहाँले बुटवल उपमहानगरपालिकाले समाधान गर्नसक्ने समस्या समाधान गर्ने र अधिकार क्षेत्रबाहिरका समस्या सङ्घ र प्रदेशमार्फत समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बुटवलमा रोजगार सिर्जनाका लागि प्रयासरत रहेको र वैदेशिक रोजगारमा जानेलाई स्वदेशमै राख्ने गरी नीति बनाउन सङ्घ र प्रदेशसँग समन्वय गर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा क्षेत्रको बलमा बुटवलको विकास र समृद्धिको योजना अगाडि बढ्ने बताउनुभयो । उहाँले शिक्षाक्षेत्रको प्रगतिले मात्रै बुटवल समृद्ध बन्ने धारणा राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै गुणस्तरमा सुधार ल्याउनका लागि सार्वजनिक र निजी क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।
गत सोमबारदेखि नियमितरूपमा सञ्चालन भएको क्षेत्रगत सुझाव सङ्कलन तथा समन्वयसम्बन्धी कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासँग छलफल गरेर सोहीअनुसारको नीति तय गर्ने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो ।
सुझाव सङ्कलन कार्यक्रमअन्तर्गत पहिलो चरणको कार्यक्रम सकिएपछि दोस्रो चरण सुरु हुने सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताउनुभयो ।






