काभ्रेपलाञ्चोक, ७ चैत ; काभ्रेपलाञ्चोकस्थित अरनिको राजमागअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्तिको कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो ।
निर्माणको सुरु भएको नौ महिना बितिसक्दा १० प्रतिशत मात्रै काम भएको जनाइएको छ । उक्त सडकखण्ड स्तरोन्नति तथा विस्तार गर्न डिभिजन कार्यालयले गौरी–पार्वती निर्माण सेवा प्रालीबीच सम्झौता गरेको थियो ।
मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै उक्त सडकखण्डमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्न लागिएको छ । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो ।
कार्यालयका इञ्जिनियर नेत्र देवकोटाले काममा ढिलाइ भएपछि कार्यालयले यस अवधिमा सात वटा पत्र काटेर ढिलाइ हुनुका कारण सोधेको जानकारी दिनुभयो । सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रू २० करोड १९ लाखमा सम्झौता गरिएको थियो ।
कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म कुनै पत्रको जवाफ पठाएका छैनन् । पत्रको बेवास्ता गरेपछि कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्को खम्बा स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै काममा ढिलाइ गरेको जनाएको छ । कार्यालयबाट पटक, पटक मौखिक एवं लिखित निर्देशन दिएको तथा गत माघ १० र फागुन ७ मा निर्माण कम्पनीका अध्यक्षलगायतको संयुक्त बैठकमा प्रतिबद्धता गरेअनुसार काम नभएकाले स्पष्टीकरण सोधिएको देवकोटाको भनाइ छ ।






