सुदूरपश्चिममा ३६ क्याम्पसमा मतदान, २३ क्याम्पसमा स्थगित

  चैत ०५, २०७९

घोडाघोडी कैलाली, ५ चैत : त्रिभुवन विश्वविद्यालय त्रिवि अन्र्तगतका सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मतदान भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १०, कञ्चनपुरमा ६, डोटीमा ३, अछाममा २, बाजुरा एक, डडेल्धुरा १ बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो ।

कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।

सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । चुनाव स्थगित हुनेमा अछाम ५ , कैलाली २, बैतडी २, कञ्चनपुर ९, डोटी १, दार्चुला १, बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन् ।

त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ । सुदूरपश्चिममा सबैभन्दा बढी विद्यार्थी संख्या रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा पाँचवटा संघ संगठन र दुई स्वतन्त्र उम्मेदवार छन् ।

घोडघोडी बहुमुखी क्याम्पस स्ववियू निर्वाचन संयोजक चेतराज बिनाडीले बिहान ८ बजेदेखि नै शान्तपूर्ण वातावरणमा मतदान भइरहेको जानकारी दिनुभयो । उक्त क्याम्पसमा ५ वटा बुथबाट दुई हजार २४७ जना मतदाताले मतदान गरिरहेका छन् ।

उक्त क्याम्पसमा १९ सदस्य स्ववियु समितिका लागि प्रत्यक्ष र समानुपातिकतर्फको मतदान कार्य भइरहेको छ ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रिय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितका सदस्य सचिव पशुपति अधिकारीले ६१ आंगिक क्याम्पस र ५०० बढी सामुदायिक क्याम्पसमा उत्साहपूर्ण उपस्थितिमा मतदान भइरहेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया