बूढानीलकण्ठमा सीप सम्मेलन तथा कृषि मेला सुरु

  चैत ०३, २०७९

काठमाडौँ, चैत ३ : बूढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगरप्र्रमुख मिठाराम अधिकारीले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई बजारीकरण गर्न सीप सम्मेलन तथा कृषि मेला आयोजना गरिएको बताउनुभयो ।

सीप सम्मेलनले आगामी दिनमा व्यवसायलाई थप उत्प्रेरणा हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिका कृषि उत्पादन तथा घरेलु व्यवसायमार्फत स्वरोजगार विकास गर्न सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ ।

नीति तथा कार्यक्रमका लागि आधार तयार गर्न र आगामी आवमा कस्ता खालका सीपमूलक तालिम तथा कृषिलाई केन्द्रित गरी उपलब्धिमूलक कार्यक्रम तयार गर्न सकिन्छ भन्ने परीक्षण गर्न सीप सम्मेलन तथा कृषि मेला गरिएको उहाँले बताउनुभयो ।

काठमाडौँ क्षेत्र नम्बर ४ ‘ख’ का बागमती प्रदेशसभा सदस्य जयराम थापाले स्थानीय व्यवसायीलाई आर्थिकरूपमा सक्षम बनाउन यस कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।

उहाँले कौसी खेती, टनेल खेती, पुष्प खेती, घरेलु व्यवसायलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न आवश्यक पहल गर्ने बताउनुभयो ।

आधुनिक कृषि खेती कसरी गर्ने र भएको उत्पादनलाई बजारीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर कृषकलाई सहज बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा ७१ स्टल राखिएको छ । स्थानीयवासीले हातबाट बुनेका सामान, काठबाट बनाइएका, गाँजा र अल्लोबाट बनाइएका कपडा, जैविक खाने परिकार, विषादिरहित तरकारीलागायत सामान स्टलमा प्रदर्शनमा राखिएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा सुरु भएको सीप सम्मेलन तथा कृषि मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया