काठमाडौँ, फागुन २५ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम नगर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
आज राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रपति राष्ट्रको अभिभावक भएकाले नवनिर्वाचित राष्ट्रपतिले राष्ट्रहितलाई सर्वोपरी राख्नुहुनेछ भन्नुभयो ।
अध्यक्ष नेपालले भन्नुभयो, “राष्ट्रपतिले राष्ट्रको हितमा कुठाराघात हुने, प्रतिकूल असर पर्ने कुनै काम गर्न हुन्न र देशको शिर निहुरिने कुनै काम गर्नु हुन्न ।” यसैगरी उहाँले आजको राष्ट्रपति निर्वाचनको परिणाम सहमतिअनुसार नै आएको र आफूले मतपरिणामलाई उत्साहप्रदक र सकारात्मकरूपमा लिएको बताउनुभयो ।
उहाँले थप भन्नुभयो, “हामीले सहमति गरेअनुसार नै परिणाम प्राप्त भएको छ, राष्ट्रपतिबाट विगतमा भएका राम्रो कुरालाई ग्रहण गर्दै कमजोरी कुरा सच्याउनुपर्छ ।”
अध्यक्ष नेपालले गठबन्धनमा भागबण्डा ठूलो कुरा नभएकाले स्वभाविकरूपमा अगाडि बढ्ने जानकारी गराउनुभयो । संविधान र अहिलेसम्मको उपलब्धि रक्षाका लागि आफूहरूले पनि साथ दिने उहाँको भनाइ थियो ।






