सुदूरपश्चिम प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिँदै

  फागुन १९, २०७९

सुदूरपश्चिम, फागुन १९ : यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ ।

प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा फागुन २१ गते अपराह्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको उल्लेख छ ।

विश्वासको मतका लागि मुख्यमन्त्री शाहले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र( र नागरिक उन्मुक्ति पार्टीसँग भेटघाट एवं छलफललाई तीव्रता दिइरहनुभएको छ ।

केन्द्रमा बनेको दलको समीकरणसँगै मुख्यमन्त्री शाहले प्रदेशसभाबाट सजिलैसँग विश्वासको मत पाउने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

दलको नयाँ समीकरणअनुसार मुख्यमन्त्रीले प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार सदस्यसहित ४० सदस्यको विश्वासको मत पाउने देखिएको मुख्यमन्त्रीको सचिवालयले दाबी गरेको छ ।

संविधानको धारा १६८ (३) बमोजिम गएको माघ २६ गते कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । संविधानअनुसार उहाँले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा उहाँलाई विश्वासको मत पाउन २७ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा अन्य दलमा नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र स्वतन्त्र एक सदस्य रहेका छन् ।

गत मङ्सिरको चुनाव लगत्तै मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तोकिएको समयभित्र प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पदबाट राजीनामा दिनुभएको थियो ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरी बहुमत सदस्यको समर्थनमा रावल मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । विश्वासको मत लिने बेला भने नागरिक उन्मुक्तिले विश्वासको मत दिन नमानेपछि रावल पदमुक्त हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया