जनकपुरधाम, फागुन १९ : विगतका अनुभवबाट पाठ सिक्दै संविधान र सङ्घीयताको रक्षा गर्न प्रतिवद्ध व्यक्ति नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति बन्नुपर्नेमा जोड दिइएको छ ।
आगामी फागुन २५ गते हुने राष्ट्रपतिका लागि आठ राजनीतिक दलका उम्मेदवारका सन्दर्भमा गठित राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्रको आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमका वक्ताले राष्ट्रपति संविधान र सङ्घीयताको रक्षा गर्ने साझा अभिभावक भएकाले त्यसमा प्रतिवद्ध व्यक्तिलाई निर्वाचित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले आठदलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिक दलबीचको सहमति, सहकार्य र गठबन्धन संस्कारको पक्षपाती हुनुका साथै संविधान एवम् संसदीय सर्बोच्चतमा प्रतिवद्ध भएकाले उहाँलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टी र कुनै व्यक्तिको सल्लाहमा नभई संविधान र संवैधानिक मर्मअनुसार अगाडि बढ्न प्रतिबद्ध व्यक्ति राष्ट्रपति बन्नुपर्ने गठबन्धन दलका नेताको चाहनाअनुसार कांग्रेसले उपयुक्त पात्रलाई उम्मेदवार बनाएको भन्दै कुनै भ्रममा नपरेर उहाँलाई मतदान गर्न आग्रह गर्नुभयो ।
“विगतमा सरकारले जारी गर्न खोजेका विधेयक रोकियो, संसद् विघटनलाई सदर गरेर पक्षपोषण भयो”, सहमहामन्त्री मन्सुरले भन्नुभयो, “त्यसैले संविधानको मर्यादा र आफ्नो सल्लाहकार (प्रधानमन्त्री)को सल्लाहमा राष्ट्रपतीय भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्नुपर्ने आवश्यकता छ ।”
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव मातृकाप्रसाद यादवले निर्वाचनपछि पनि रामचचन्द्र पौडेल गठबन्धनको पक्षमा इमान्दार रहेको र आगामी दिनमा संविधान र प्राप्त उपलब्धीको रक्षा गर्न प्रतिवद्ध रहने विश्वाससहित आठ दलको प्रस्ताव र समर्थनमा उहाँलाई उम्मेदवार बनाइएको बताउनुभयो ।
“राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल विगतमा पनि गठबन्धनमा इमान्दार हुनुहुन्थ्यो, त्यसको फल अहिले पाउँदै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “अब कांग्रेस र गठबन्धनका सबै दल इमानदार बनेर उहाँलाई विजयी गराऔँ ।” उपमहासचिव यादवले नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस र आफूहरू मिल्ने भनेर भ्रम फैलाइरहेको प्रति सचेत रहन पनि सबैलाई आग्रह गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष धर्मनाथप्रसाद साहले रामचन्द्र पौडेल गठबन्धन दलका साझा उम्मेदवार भएकाले कुनै भ्रममा नपरेर पार्टीगत अनुशासनमा रहेर सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीले राष्ट्रपतिका उम्मेदवार पौडेलका लागि आठै दलका सांसद मतदाता मात्र नभई समर्थक र प्रस्तावक भएकाले साझा उम्मेदारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने धारणा राख्नुभयो ।
“विगतको कुप्रयासका आधारमा शक्ति सन्तुलनसमेतका लागि संसद्को सबैभन्दा ठूलो दल र लोकतन्त्र एवम् सङ्घीयता, संविधानप्रति इमान्दार व्यक्ति आवश्यक रहेकोले हामी पौडेलको पक्षमा उभियौँ । सरकार बनाउन मात्र नभई प्राप्त उपलब्धिको रक्षा गर्न आठ दलीय गठबन्धन बनेकोले हामी सबै इमान्दारितापूर्वक अगाडि बढौँ”, भण्डारीले भन्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) राजनीतिक समिति सदस्य हरिनारायण यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, नेपाली कांग्रेस मधेश प्रदेशकासभापति एवम् प्रदेशसभा संसदीय दलका नेता कृष्ण यादव, जनमत पार्टीका नेता चन्दन सिंहले सङ्घीयता लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सृदृढीकरणमा सहयोग गर्ने व्यक्ति राष्ट्रपति आवश्यक भएकाले आठ दलीय सहमतिमा सबै इमान्दार हुनुपर्नेमा जोड् दिनुभएको थियो ।
कार्यक्रममा मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने गठबन्धन दलका प्रदेशसभा सदस्य, राजनीतिक दलका नेताको उपस्थिति रहेको थियो ।






