काठमाडौँ,फागुन ४ : नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारमाझ अहिलेको समीकरणलाई बदल्नु माओवादीको प्राथमिकता नभएको उल्लेख गरे ।
श्रेष्ठले प्रतिगमनलाई कुनैपनि हालतमा अगाडि बढ्न नदिने, राष्ट्रियताको रक्षा, समृद्धिको लक्ष्य र शान्ति प्रक्रियाको बाँकी कामसहित चारवटा विषय प्रष्ट रहेको बताएका छन् ।
मन्त्री श्रेष्ठले भने, यो पुरा गर्नेगरि विश्वासको वातावरण बन्यो भने बाहिरबाट कसैले चाहेर पनि गठबन्धन भत्किँदैन । यदि त्यस्तो खालको परिस्थिति नबनेको खण्डमा माओवादीले चाहँदै वा नचाहँदैमा केही पनि गर्न सकिन्न ।
सबै दलहरूलाई समेट्ने गरी पार्टी अघि बढ्न चाहेको भएपनि गठबन्धन बदल्ने कुरा नरहेको श्रेष्ठको भनाइ थियो । उनले भने, ‘वर्तमान समीकरणलाई बदल्ने प्राथमिकता हाम्रो छैन । सबै दलहरूलाई समेट्ने गरी अघि बढ्न चाहेका छौं । तर, समीकरण बदल्ने कुरा छैन ।
राष्ट्रपतिको चुनावको विषयमा हाम्रो एउटै भनाई छ, त्यो भनेको प्रधानमन्त्री प्रचण्डलाई सबै पार्टीहरूबाट समर्थन प्राप्त भयो, त्यसका लागि हाम्रा एतिहासिक परिघटना हो ।
अहिलेको मुलुकाको आवश्यकता राष्ट्रिय सहमतिको स्थितिको सृजना भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई सम्बोधन गर्न उपयुक्त हुन्छ । श्रेष्ठले राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति आवश्यकतामा आफूहरूले जोड दिएको बताए ।
माओवादी नेतृत्वमा हुँदा अहिलेका राजनीतिक उपलब्धिलाई साधन बनाएर सामाजिक, आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने आगामी कार्यभार रहेको उनले बताए ।






