कटाक्ष काठमाडौँ, फागुन २ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन तोडिने अवस्थामा पनि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार काठमाडौंमा अनेरास्ववियुको महाधिवेशन उद्घाटनका क्रममा ओलीले विगतको पाँचदलीय गठबन्धन तोडिँदा एमालेका नेता–कार्यकर्तामा आनन्दानुभूति देखिएको बताए । उनले अहिलेको सत्ता गठबन्धन तोडिने अवस्थामा पुगे पनि तयार हुनुपर्नेमा जोड दिए ।
पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गर्दै देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको र संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे ।
उनले आफूसँग बहुमतभन्दा धेरै कम मत रहेको भन्दै आउने परिस्थिति स्वीकार गर्नुपर्ने उल्लेख गरे । “यो देशको पाले नेकपा (एमाले) हो । त्यसैले एमालेलाई जुनसुकै बेलामा पनि आक्रमण हुनसक्छ,” उनले भने, “तर, एक छिन पराजित गरे पनि उनीहरूले नेकपा (एमाले)लाई कमजोर पार्न सक्ने छैनन् ।”
हिजो पनि कम्युनिस्ट पार्टीलाई दुइतिहाइको अवस्थामा पुर्याएका बेला एमालेमाथि आक्रमण भएको भन्दै उनले एमाले युवा, विद्यार्थीको आन्दोलनको जगमा फेरि उठेको बताए ।






