कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् ।
राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन् । राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ ।
सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ । सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ ।
“हामी वर्षांैदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ”, उहाँले भन्नुभयो, “कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।”
कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ ।
सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भन्नुभयो, “ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ । तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।”






