नेपाल एथलेटिक्स सङ्घ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता चितवनको माडीमा हुने भएको छ ।
चितवन जिल्ला एथलेटिक्स सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी फागुन ११ देखि १३ गतेसम्म माडी नगरपालिकाको वसन्तपुर खेल मैदानमा राष्ट्रिय प्रतियोगिता हुन लागेको जनाएको हो ।
प्रतियोगितामा सात वटै प्रदेशबाट एक सय ३५ महिला तथा पुरुष खेलाडी सहभागी हुनेछन् । प्रत्येक प्रदेशबाट हरेक विधामा दुई जना खेलाडी सहभागी हुने सङ्घका जिल्ला अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी दिनुभयो ।
खेलाडीले २६ विधामा २६ स्वर्ण, २६ रजत र २६ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रथम हुनेलाई रू पाँच हजार, द्वितीय हुनेलाई रू तीन हजार र तृतीय हुनेलाई रू दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।






