माओवादी संसदीय दलको प्रमुख सचेतकमा सिम्खडा

  माघ ११, २०७९

कास्की, माघ ११ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन हुनुभएको छ ।

सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो । सचेतक सिम्खडाले विसं २०४६ मा विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरु गर्नुभएको थियो । माओवादी जनयुद्धमा उहाँ लामो समय भूमिगत हुनुभयो ।

उहाँ हाल पार्टीको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । सिम्खडा गोरखाको भीमसेन थापा गाउँपालिका–४ स्थायी निवासी हुनुहुन्छ । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने कामसहित संसद्लाई प्रभावकारी बनाउनेतर्फ लाग्ने बताउनुभयो ।

साठी सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका आठ सांसद छन् । गोरखा–१(१)बाट प्रत्यक्ष निर्वाचित कृष्णप्रसाद धिताल प्रदेशसभाको सभामुख निर्वाचित हुनुभएको छ । यसैगरी प्रदेश सरकारमा माओवादीबाट दुई मन्त्री नियुक्त भएका छन् ।

संसदीय दलका नेतासमेत रहनुभएका तनहुँबाट प्रत्यक्ष निर्वाचित हरिबहादुर चुमानले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।

यसैगरी म्याग्दीका रेशमबहादुर जुग्जालीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिनुभएको छ । माओवादीले अब दलको उपनेता चयन गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया