देश विकास निर्माणको अभिभारा बोकेर आएका छौँ : श्रेष्ठ

  माघ ०४, २०७९

भजनी, माघ ४ : कैलाली क्षेत्र नं १ कि प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनताले देश विकास निर्माणको अभिभारा बोकाएर पठाएको बताउनुभएको छ ।

कैलाली टीकापुरमा सञ्चालन भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला टीकापुर महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले पाँच वर्षसम्म प्रतिनिधिविहीन कैलाली क्षेत्र नं १ का जनताले देश निर्माणको अभिभारासहित नेतृत्व तहमा पु¥याएको बताउनुभएको हो ।

“हाम्रा लागि अबको पाँच वर्ष अवसर र चुनौती दुवैले घेरिएको छ । त्यो अवसर र चुनौतीलाई एकैसाथ टुङ्गोमा पु¥याउनुपर्नेछ, उहाँले भन्नुभयो, “जनताकामाझमा बाँडेका सपना पूरा गर्नुछ । दश वर्ष विकासमा पछाडि परेको टीकापुरलाई समृद्धिको बाटोमा डो¥याउने मेरो सङ्कल्प रहनेछ ।”

उहाँले टीकापुर सम्भावना बोकेको क्षेत्र भएको बताउँदै त्यसका लागि आवश्यक अभावलाई पूरा गर्न प्रतिबद्ध रहने बताउनुभयो । “कर्णाली नदी टीकापुरको गहना हो । टीकापुर पार्क हाम्रो सम्पत्ति हो ।

कर्णाली, मोहना, पथरैया नदीमा पाइने डल्फिन हाम्रा सम्भावना हुन्”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “ती सबै कुरालाई चलायमान बनाउनका लागि टीकापुर विमानस्थल सञ्चालनमा ल्याउनका लागि सङ्घीय सरकारसँग समन्वय र सहकार्य गर्नेछु । पाँच वर्षभित्र टीकापुरबाट हवाई सेवा सञ्चालन गर्ने मेरो प्रतिबद्धता भयो ।”

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले विकासका काममा राजनीतिभन्दा समन्वय र सहकार्य आवश्यक रहने बताउनुभयो ।

उहाँले सबै दृष्टिकोणबाट टीकापुर सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई साकार पार्नका लागि सबैको एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालन भएको उक्त महोत्सव माघ १५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ७५ लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारको प्रस्तुति, कृषि प्रदर्शनी, विज्ञान प्रदर्शनी, रमाइलो मेलालगायतका आकर्षण रहेका छन् ।

तपाईको प्रतिक्रिया