जुनसुकै भ्रष्टाचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौं :: रवि लामिछाने

  पुष २५, २०७९

काठमाडौं, पुस २५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका हुन् ।

उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे । उनले भने, ‘म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत भन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।’

उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै उनले भने, ‘नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।’ नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको उनको भनाइ छ ।

नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गरेकोसमेत स्मरण गरेका छन् । उनले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।

सरकारको काम कारवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने अड्काउन काम नगरी सघाउनेछन् भन्ने आशा व्यक्त गरे । सभापति लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया