भक्तपुर, पुस १८ : पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिको आगमन भइरहन्थ्यो ।
तर आज भने ओलीको आँगनमा फरक दृश्य देखियो । ओलीको आफ्नै घरको आँगन आज ज्येष्ठ नागरिकले भरिभराउ भए ।
झन्डै तीन घण्टा ओली आफूलाई भेट्न दोलखादेखि आएका ४० जना ज्येष्ठ नागरिकसँग रमाइरहनुभयो । ज्येष्ठ नागरिकहरू पनि पहिलो पटक यसरी देशका नेताको आँगनमै पुगेर भेट्न पाउँदा निकै खुसी देखिनुहुन्थ्यो ।
दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा दोलखाबाट आउनुभएका ज्येष्ठ नागरिकहरूलाई एमाले अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरूको अनुभव र विचारहरू सुन्नुभएको थियो ।
त्यस क्रममा एमाले अध्यक्ष ओलीले हरेक क्षेत्रलाई ज्येष्ठ नागरिक मैत्री बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सेवालाई मुख्य आधार मान्दै उनीहरूको हितका लागि आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।






