स्थानीय तहले आफैँले बनाएका कानुनका आधारमा काम गर्नुपर्छ : मुख्यमन्त्री केसी

  पुष १४, २०७९

देउखुरी,पुस १४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थानीय तहले आफ्ना लागि बनाएका नियम कानुनका आधारमा काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले संरचनागत केही कुरालाई परिमार्जन, संशोधन गरेर पालिकास्तरीय विकासका काम गर्नुपर्ने बताउनुभयो ।

गढवा गाउँपालिका–३ स्थित बाघनाथ जङ्गलकुटीमा दाङका १० वटै पालिकाको घुम्ती समन्वयात्मक बैठकमा मुख्यमन्त्री केसीले आफ्नो स्रोतलाई जगेडा गरेर सुशासन कायम गर्न आफ्नै प्रहरी चाहिने हुँदा पालिकाले प्रहरी भर्ना गरेर अहिले देखा परेका समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

उहाँले चाँडै नै स्थानीय प्रहरी ऐन बनाएर लागू गर्दै पालिका प्रहरी परिचालन गरेर काम गरेमा शान्तिसुरक्षामा सहज हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयताको पाँच वर्षीय अनुभवलाई हेर्दा सुखद बन्दै गएको उहाँको भनाइ थियो ।

राज्य संरचनाका रुपमा पनि हरेक १० वर्षमा संविधानको समीक्षा गर्न सकिने अवस्था रहेको हुँदा प्रदेश सरकारले गरेका कामका बारेमा आउने सरकारले समीक्षा गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले ७२ वटा कानुन निर्माण गर्न सफल भएको जानकारी गराउनुभयो । यस्तै निजामती ऐन अन्तिम चरणमा पुगेको बताउनुभयो । यसले आफ्नो स्थायी प्रशासन व्यवस्थित बनाउन सघाउने उहाँको भनाइ थियो ।

बितेको पाँच वर्षमा संविधानको हेरफेरमा रहेका अनुसूची टुङ्ग्याउन नसक्दा प्रदेश प्रहरी संरचना अधुरो रहेको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री केसीले स्थानीय तहमा नदीजन्य पदार्थको अवैध दोहनले निकै समस्या पैदा गरेको हुँदा यसको रोकथाम गर्न र राजस्व चुहावट रोक्न आफ्नै स्रोतसाधनको उपयोगमा अघि बढ्न सचेत गराउनुभयो ।

दाङका नदीनाला तथा खोलाबाट नदीजन्य पदार्थको दोहन रोक्न निकै चुनौती रहेका बेला प्रदेश सरकारको तर्फबाट पनि समयमै काम अघि बढाउने गरी भूमिका खेल्ने उहाँले बताउनुभयो । कानुनको अभावमा काम गर्न कठिन हुने हुँदा विद्यमान समस्या नदोहोरिने गरी काममा जुट्न उहाँले अपिल गर्नुभयो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्राकृतिक स्रोत साधनको साझा सूचीमा राखिएको कुरालाई स्पष्टरुपमा तीन तहका सरकारलाई राखेको हुँदा स्थानीय सरकारले यसको भरपुर उपयोग हुनुपर्नेमा जोड दिनुभयो । गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले नदीजन्य पदार्थ व्यवस्थापनमा समस्या भएको हुँदा चोरी बढेको बताउनुभयो ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नदीजन्य पदार्थको समस्या राप्तीले पनि भोगिरहेको बताउनुभयो । दिनरात चोरी निकासी भइरहेका बेला प्रहरीले चौबिसै घण्टा सुरक्षा दिन नसक्ने तथा पालिकाको साधनस्रोत जनशक्तिले पनि नियन्त्रण गर्न कठिन परेको उहाँले बताउनुभयो ।

राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले नदीजन्य वस्तु दोहन रोक्न पालिकाबाट सम्भव नभएको बताउनुभयो । स्थानीय तहसँग अधिकार नभएका कारण काम गर्न नसकिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनलगायतले स्थानीय स्रोतसाधनको उपयोगमा अन्तरपालिकाबीच सहकार्य हुनपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शर्माले अन्तरपालिकाबीच समन्वय र सहकार्य गर्नुपर्छ भन्ने उद्देश्य पूरा गर्न पालिकास्तरीय घुम्ती समन्वयात्मक बैठक गर्दै आएको बताउनुभयो । घुम्ती अन्तक्र्रिया गरेमा स्थानीय तहका समस्याको छलफल गर्ने राम्रो परिपाटी बसेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया