काठमाडौं, पुस ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेका युवा भनेको देशको भविष्य भएकाले विद्यार्थी युवावर्गले समस्याको गुनासो गर्ने नभइकन समाधान गर्न के गर्ने भन्नेकुराको बारेमा सोच्न आवश्यक रहेको बताउनुभयो । उहाँले युवाहरु थाहा नै नपाइकन निन्दक बन्ने गरेको भन्दै निन्दक र आलोचकमा धेरै ठूलो भिन्नता हुने बताउनुभयो। उहाँले युवा आलोचक बन्नु गलत नभएको तर आफ्नो, समाजको, आज र भविष्यको बारेमा सोचेर आलोचना गर्न उपयुक्त हुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘आलोचक बन्दा बन्दै थाहै नपाइकन हामी निन्दक बनिसकेका हुन्छौं। क्रिटिकल हुने भनेको कहिलेकाहीँ आफ्नो बारेमा पनि हुने हो। शिक्षक, स्कुल, समाजको, कम्युनिटी, आज, भोलिको बारेमा हुने हो। जीवनभर कम्प्लेन मात्रै गर्नुभयो भने जीवन कम्प्लेनमा नै सकिन्छ।’’ महामन्त्री थापाले निन्दक बन्नु युवाका लागि जीवनकै सबैभन्दा ठूलो कमजोरी हुने बताउनुभयो। उहाँले अहिलेको युग प्रविधिको भएकाले अनलाइनमा बस्दा पनि सामाजिक सञ्जालको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।