काठमाडौँ, मङ्सिर २७ : राजनीतिशास्त्रका अध्येता विश्वासदीप तिगेलाले विश्व र नेपालको निर्वाचन प्रणालीबारे तथ्याङ्कसहित तुलनात्मक जानकारी दिनुभएको छ ।
मुन्धुम एकेडेमी काठमाडौँद्वारा आज आयोजित अन्तक्र्रियामा उहाँले विश्वका उत्कृष्ट र अप्रजातान्त्रिक निर्वाचन प्रणालीका कसीमा नेपालको मिश्रित निर्वाचन प्रणालीले केके सुधार गर्न आवश्यक छ भन्ने विषयमा पनि तथ्यगत कारण र आधार प्रस्तुत गर्नुभयो । आफूले नेपालको मिश्रित निर्वाचन प्रणाली विकसित देशका भन्दा उत्तम पाएको जिकिर गर्दै तिगेलाले समानुपातिक नाम सूची खुला गर्न सकेमा विकृति नदेखिने बताउनुभयो ।
क्यान्टबरी युनिभर्सिटी बेलायतबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्नुभएका तिगेला हाल राजनीतिशास्त्रमा चीनको सुरक्षा नीति विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । धनकुटावासी लेखकका काव्य, निबन्ध, नियात्रा, अनुसन्धानमूलक कृतिलगायत ‘ह्वाइ चाइना इज नट रिप्लेसिङ अमेरिका’ नामक पुस्तक प्रकाशनमा आइसकेको छ ।
कार्यक्रममा एकेडेमीका संयोजक डिबी आङ्बुङलगायत राजनीतिशास्त्रका विद्यार्थी र राजनीतिकर्मीको सहभागिता थियो ।