मधेस प्रदेश सरकारका तीन मन्त्री पराजित, चार जना पुनः निर्वाचित

  मंसिर १३, २०७९

जनकपुरधाम, मङ्सिर १४ : मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका मधेस प्रदेश सरकार तीन मन्त्री पराजित हुनुभएको हो ।

मुख्यमन्त्रीसहित चार जना मन्त्रीमध्ये पुनः निर्वाचित हुनुभएको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधनप्रसाद महतो पराजित हुनुभएको छ ।

सप्तरी क्षेत्र नम्बर २ (१) बाट चुनाव लड्नुभएका अर्थमन्त्री साह जनमत पार्टीका सतिशकुमार सिंहसँग पराजित हुनुभएको छ भने सिरहाको क्षेत्र नम्बर २ (१) बाट चुनाव लड्नुभएका कृषिमन्त्री यादवलाई जनमत पार्टीकै सञ्जयकुमार यादवले पराजित गर्नुभएको छ । यस्तै उद्योगमन्त्री महतोलाई नेकपा (एमाले)का हरिनारायण महतोले पराजित गर्नुभएको छ ।

मधेस प्रदेश सरकारका तीन जना मन्त्री पराजित हुँदा मुख्यमन्त्री लालबाबु राउत पर्सा क्षेत्र नम्बर १ (२) बाट, कानून न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोदकुमार यादव सिरहा क्षेत्र नम्बर ३ (२) बाट र गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्बर १ (२) बाट पुनः निर्वाचित हुनुभएको छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साह भने सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

धनुषा क्षेत्र नम्बर ३ र ४ बाट महासेठ दम्पती विजयी

धनुषाको दुई वटा क्षेत्रबाट नेकपा (एमाले)बाट महासेठ दम्पतीले विजयी विजय हासिल गरेका छन् । धनुषा क्षेत्र नम्बर ४ मा एमालेका सचिव रघुवीर महासेठ र क्षेत्र नम्बर ३ मा उहाँकी धर्मपत्नी तथा एमाले नेत्री जुलीकुमारी महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दुवै क्षेत्रमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै महासेठ दम्पतीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने अवसर पाएको हो ।

गत २०७४ सालको निर्वाचनमा महासेठले धनुषा क्षेत्र नम्बर ४ बाट चुनाव जित्नुभएको थियो भने महतो समानुपातिक सूचीबाट सांसद हुनुभएको थियो । आज दिउँसो सम्पन्न अन्तिम मतपरिणामअनुसार महासेठले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई एक सय २४ मतान्तरले पराजित गर्नुभएको छ ।

महासेठले ३२ हजार दुई सय ३६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी यादवले ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै धनुषा क्षेत्र नम्बर ३ मा महतोले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो । महतोले ३३ हजार तीन सय ८८ मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी झाले २३ हजार छ सय ६८ मत प्राप्त गर्नुभयो ।

महासेठ दम्पतीको परिवारबाट अर्का आफन्त पनि प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष जित्नुभएको छ । जुली महतोका दाजु डा वीरेन्द महतो सिरहा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएको छ ।

डा महतो जनता समाजवादी पार्टी (जसपा) बाट २४ हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहले १६ हजार दुई सय ९४ मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया