अष्ट्रेलियाली राजदूतद्वारा मदरसा शहबाजियामा स्रोत केन्द्र उद्घाटन

  मंसिर १२, २०७९

काठमाडौँ, मङ्सिर १२ : नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले विराटनगरस्थित मदरसा शहबाजिया माविमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सो अवसरमा उहाँले सामाजिक समावेशिता अष्ट्रेलियाली विकास क्रियाकलापहरुको आधार भएको बताउँदै इस्लाम धर्मावलम्बी बालबालिकालाई थप सिकाइका अवसरका लागि सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभयो ।

नेपालमा पनि अष्ट्रेलियामा जस्तै विविध जाति, धर्मका समुदायहरू एकापसमा मिलेर बसेका रहेको उल्लेख गर्दै राजदूत भोल्कले शिक्षामा समान पहुँच, सबै क्षेत्रमा समान अवसरहरूले समाजिक मेलमिलापलाई र राष्ट्रिय समृद्धिलाई प्रोत्साहित गर्ने धारणा व्यक्त गर्नुभयो ।

उक्त स्रोत केन्द्रको स्थापना अष्ट्रेलिया अवार्डस् अल्मुना शेहनाज अन्सारीको अगुवाइमा दूतावासको अष्ट्रेलियाली अल्मुनाई पब्लिक डिप्लोमेसी फन्डद्वारा प्राप्त आर्थिक सहयोगमा स्थापना गरिएको हो । यसमा बालबालिकाको पढ्ने बानीको विकास गर्न र विभिन्न संस्कृति र भूगोलका बारेमा बुझ्न सहयोग गर्ने पुस्तकहरूको व्यवस्था गरिएको यहाँस्थित अष्ट्रेलियाली दूतावासले जनाएको छ ।

सो अवसरमा राजदूत भोल्कले एसोसिएसन अफ नेपालिज अल्मुनाई फ्रम अष्ट्रेलिया ९आना० का प्रतिनिधि शेहनाजलाई उक्त संस्थामार्फत नेपाल र अष्ट्रेलियाको सम्बन्ध र मित्रतालाई प्रवद्र्धन गर्न सफल भएकामा बधाईसमेत दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया