खजुरा, मङ्सिर १२ : नेपाली कांग्रेसका सहमहामन्त्री तथा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य किशोरसिंह राठौरले आगामी सरकारको नेतृत्वको विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुङ्गो लाग्ने बताउनुभएको छ ।
प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको परिवर्तन भनेको युवा केन्द्रित हो, त्यसैले युवाकै नेतृत्वमा सरकार बनाउनुपर्ने हो, त्यसका लागि म पनि एउटा दाबेदार हो ।”
सहमहामन्त्री राठौरले पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सरकारको भन्दा पार्टीको सङ्गठन बनाउनेतर्फ लाग्न सुझाव दिँदै दुवैमाथि आगामी पाँच वर्षभित्र पार्टीलाई एक्लै चुनाव लड्ने अवस्थामा पुर्याउनुपर्ने जिम्मेवारी भएकोले पार्टी नेतृत्वमा बसेर लाग्नुपर्ने भन्नुभयो ।






