बनियानी, मङ्सिर ७ : झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं. ३ को प्रदेशसभा (२) मा एमाले–राप्रपा तालमेलका उम्मेदवार छविलाल चुडाल विजयी हुनुभएको छ ।
आज सम्पन्न मतगणना अनुसार चुडाल १९ हजार आठ सय ७५ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं. ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का पूर्णसिंह राजवंशीले १३ हजार आठ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
यता, झापा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ । अध्यक्ष लिङ्देनले २२ हजार ९६१ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २० हजार १४९ मत प्राप्त गर्नुभएको छ ।
झापा– २ मा घिमिरे निर्वाचित
झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृत केशवराज पन्तका अनुसार उहाँले २८ हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेद्वार स्वागत (भद्रप्रसाद) नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा समेत नेकपा एमालेकै उम्मेद्वार चिन्तन पाठक र एकराज कार्की विजयी बन्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिहुन्छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटाको नजिता सार्वजनिक भइसकेको छ भने क्षेत्र नम्बर ३ र ४ मा भने मतगणना जारी छ ।






