कैलाली निर्वाचन ‘अपडेट’

  मंसिर ०६, २०७९

सुदूरपश्चिम, मङ्सिर ६ : कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ कम जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले अग्रता कायम राख्नुभएको छ । उहाँले हालसम्म आठ हजार दुई सय ३६ मत प्राप्त गर्नुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले पाँच हजार एक सय ८३ मतसहित पछ्याइरहनुभएको छ । तेस्रो स्थानमा रहनुभएका नेकपा (एमाले)का तपेन्द्र रावलले एक हजार आठ सय ४७ मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा खसेका मतमध्ये आज साँझसम्म करिब २० प्रतिशत मत गणना भएको छ ।

साथै, निर्वाचन क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका प्रत्यासी अरुणकुमार चौधरी तीन हजार एक सय २७ मतसहित अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा (माओवादी केन्द्र)का भगतबहादुर बडुवाल दुई हजार एक सय ७७ मतसहित पछ्याइरहनु भएको छ । तेस्रो स्थानमा एमाले उम्मेदवार झपटबहादुर रावलले एक हजार नौ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ बाट भने नागरिक उन्मुक्ति पार्टीका गङ्गा चौधरी २३ हजार एक सय २० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णकुमार चौधरीले १७ हजार सात सय ४९ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले उछिन्नुभएको छ । जारी मतगणनामा भट्टले २० हजार दुई सय १४ मत पाउँदा बलायरले १९ हजार आठ सय १९ मत प्राप्त गर्नुभएको छ ।

आज बिहानदेखि सुरु भएको निर्वाचन क्षेत्र नं ५ (धनगढी क्षेत्र)को पछिल्लो मतगणना अनुसार नेकपा एमालेका नारदमुनी रानाथारुले एक हजार दुई सय ८० मत पाउँदा नेपाली कांग्रेसका डिल्लीराज पन्तले एक हजार ३९ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया