फुटबलले वर्तमान् विश्वलाई एकताबद्ध गर्ने इन्फान्टिनोको विश्वास

  कार्तिक ३०, २०७९

बाली, कात्तिक ३० : फुटबलको फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले फुटबल एउटा खेलभन्दा पनि धेरै ठूलो कुरा भएको र यसले मानिसहरूलाई एक ठाउँमा ल्याउने ‘अद्वितीय जादुयी’ शक्ति भएको बताउनुभएको छ ।

कतारमा हुने सन् २०२२ को फिफा विश्वकपको पूर्वसन्ध्यामा सिन्ह्वालाई दिएको विशेष अन्तर्वार्तामा इन्फान्टिनोले फुटबलले विश्वलाई एकताको सन्देश दिने बताउनुभएको हो ।

इन्डोनेसियाको बालीमा जारी जी–ट्वन्टी शिखर सम्मेलनमा भाग लिने क्रममा इन्फान्टिनोले विश्वका नेताहरूलाई तनाव र द्वन्द्वलाई त्यागेर कतारमा नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म आयोजना हुने चतुष्कोणीय फुटबल प्रतियोगिताको आनन्द लिन आह्वान गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “विश्वकप खुशी र एकताको अवसर हुनुपर्छ । यसले आशाको सन्देश दिनुपर्छ ।”

फिफा प्रमुख इन्फान्टिनोले थप्नुभयो, “फुटबल पनि एक महत्वपूर्ण आर्थिक गतिविधि हो । यसकोे विश्वव्यापी कूल आम्दानी सयौं अर्ब अमेरिकी डलर छ । यसले लाखौं रोजगारी सिर्जना गर्दछ र आर्थिक वृद्धिलाई बढावा दिन्छ ।” “यो वृद्धि, आर्थिक वृद्धिको कुरा हो,” उहाँले थप्नुभयो ।

इन्फान्टिनोले कतारमा हुने फिफा विश्वकपमा विश्वको जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् पाँच अर्ब मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको बताउनुभयो ।

सन् २०३१ मा फिफा महिला विश्वकप आयोजनाका लागि चीनको योजना रहेको उल्लेख गर्दै इन्फान्टिनोले फुटबल क्लब र युवा फुटबलमा चीनको संलग्नतासँगै यो कदमले फुटबल विकासमा क्षेत्रीय असन्तुलनलाई सम्बोधन गर्न मद्दत गर्ने र खेलको समग्र विकासका लागि महत्वपूर्ण रहेको उहाँको धारणा थियो ।

इन्फान्टिनोले भन्नुभयो, “फुटबलले मानिसको भावनालाई छुन्छ । यसले आवेगसँगै र समावेशीकरणलाई महत्व दिन्छ ।”

उहाँले भन्नुभयो, “जब तपाईं केटी वा केटालाई बल दिनुहुन्छ, वा अलि ठूलो उमेरको व्यक्तिलाई पनि बल दिनुहुन्छ, उनीहरू यसबाट खुसी हुन्छन्, मुस्कुराउन थाल्छन् । यसमा शत्रुतालाई एकतामा परिणत गर्ने गुह्य लुकेको छ ।”

तपाईको प्रतिक्रिया