ट्रम्प, पुटिन र सी जिनपिङबीच अर्को साता पहिलो त्रिपक्षीय भेटवार्ता हुने

  ३ घण्टा अगाडि

वाशिङ्टन, २८ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसले शुक्रबार यसबारे जानकारी गराएको हो ।

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार तीनै नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसको प्रवक्ता ओलिभिया वेल्सले बताउनुभएको छ ।

उक्त भेटवार्तामा राष्ट्रपति ट्रम्पले विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गर्नुभएको छ । यसका साथै इरानसँग जारी युद्धबारे पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । यद्यपि, रुस र युक्रेनबीच जारी युद्धको विषय भने उक्त बैठकमा समावेश हुने सम्भावना नरहेको बताइएको छ ।

अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच छुट्टै कूटनीतिक वार्ता भइरहेको छ । त्यसैले उक्त विषयमा चीनसँग त्रिपक्षीय छलफल गर्नु उपयुक्त नहुने अमेरिकी पक्षको भनाइ छ ।

यस भेटवार्तालाई सन् १९४५ मा भएको याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ । उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सेन्जेनमा हुने बैठकले विश्वका शक्तिशाली राष्ट्रबीच प्रभाव क्षेत्र बाँडफाँट गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

यसैबीच, राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यकारी दिवाभोज गर्ने कार्यक्रमसमेत रहेको छ । तर, रुसी राष्ट्रपति पुटिनसँग छुट्टै भेटवार्ताको कार्यक्रम भने तय भएको छैन । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया