काम गर्ने नेतृत्व आवश्यक छ : प्रवक्ता डा महत

  कार्तिक २७, २०७९

नुवाकोट, कात्तिक २७ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गर्नुभएको छ ।

नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता छ र वर्तमान नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले काम गर्ने भएकाले सोही गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्छ भन्नुभयो ।

उहाँले नेकपा (एमाले) लाई काम नगर्ने कुरा मात्र गर्ने पार्टीको सङ्ज्ञा पनि दिनुभयो । अर्को एक प्रसङ्गमा उहाँले नेपालमा सबै प्रजातान्त्रिक शक्तिहरुलाई जोड्ने नेतृत्वको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीलाई पनि एकताबद्ध बनाइ राख्न नसकेको आरोप लगाउँदै उहाँले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई मात्र एक राखेको नभएर अरु वामपन्थी शक्तिलाई सरकारको गठबन्धनमा राखेर नेतृत्व प्रदान गर्न सकेको दृष्टान्त पेश गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकिकृत समाजवादी) बन्यो तर नेपाली कांग्रेसले सिद्धान्त फरक भएका पार्टीहरुलाई पनि देशको आवश्यकता ठानी सँगै लिएर हिँडेको छ, हामीले पार्टीलाई एकतामा बाधेका छौँ, त्यसैले अबको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनलाई नै छान्न आग्रह गर्नुभयो ।

यस पटकको निर्वाचनमा कांग्रेस नेतृत्वले सबैको सल्लाह बमोजिम नै सर्वसम्मत रुपमा टिकट वितरण गरेको र अन्य दलहरुहरुको समेत केही गुनासो नरहने गरी गठबन्धन अघि बढेकोले आगामी निर्वाचनमा यही गठबन्धनका पक्षमा स्पष्ट बहुमत आउने दाबी पनि गर्नुभयो ।

प्रवक्ता डा महतले निर्वाचनपछि यही गठबन्धनकै सरकार निर्माण हुने भन्दै सरकार निर्माण गर्न गठबन्धन गर्ने पार्टीको खोजी गर्न नपर्ने गरी निर्वाचनमा होमिएको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । उहाँले संविधानको रक्षा, स्थिरता र समृद्धिको साझा लक्ष्य लिएर दलहरुबीच गठबन्धन भएको उहाँको भनाई छ । “सत्ता गठबन्धन दलले लय लिइसकेको छ ।

गठबन्धनको उम्मेदवारहरुलाई मत दिएर विजयी गराउन सबै मतदाताहरु समक्ष आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “अहिले निर्वाचनमा सहकार्य गरेजस्तै निर्वाचनपछि जनताको आवश्यकतामा दलहरुबीच सहकार्यर समन्वय हुन्छ । जनताका समस्यालाई पार्टीकरण नगरी समाधानतर्फ दलहरु केन्द्रित हुनेछन् ।”

गठबन्धनको सिट बाँडफाँट गर्ने संयन्त्रको निर्णयअनुसार नै नुवाकोट क्षेत्र नम्बर १ माओवादी केन्द्रको भागमा परेकाले आफू यसै क्षेत्रबाट प्रत्यक्ष तर्फबाट उम्मेदवार बन्ने इच्छा भए पनि सम्भव हुन नसकेको उहाँले सुनाउनुभयो ।

पार्टीको निर्णयअनुसार नै समानुपातिक निर्वाचन प्रणालीको एक नम्बरमा आफ्नो नाम रहेको उहाँको भनाइ छ । आफूले जहिले पनि नुवाकोटलाई नै प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया