राजनीतिक आन्दोलनमा सन्थाल समुदाय भूमिका महत्वपूर्ण : नेता सिटौला

  कार्तिक २६, २०७९

बनियानी, कात्तिक २६ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको राजनीतिक आन्दोलनमा सन्थाल समुदायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । झापाको राजगढमा आज आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रको रक्षा र गणतन्त्रको संस्थागत विकासमा सन्थाल समुदायको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।

झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका नेता सिटौलाले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा रहेका सन्थाल समुदायको जीवनस्तर उकास्ने खालका कार्यक्रम ल्याएर सन्थाल समुदायको योगदानको सम्मान गरिनेसमेत बताउनुभयो ।

“सन्थाल समुदाय दोस्रो दर्जाको नगरिकको अवस्थाबाट मुक्त नभएसम्म समाजवादको अनुभूति हुँदैन”, उहाँले भन्नुभयो, “सन्थाल समुदायको उन्नतिका लागि प्राथमिकताका साथ काम गर्छु ।”

आगामी निर्वाचनपछि बन्ने सरकारले सन्थाल समुदायका सबै पीडा र समस्या हल गरेरै छाड्ने प्रस्ट पार्नुभयो । सम्बोधनकै क्रममा नेता सिटौलाले गणतन्त्रवादीलाई मतदान गर्नसमेत आह्वान गर्नुभयो ।

प्रदेशसभा सदस्य पदका उम्मेदवार पूर्णप्रसादसिंह राजवंशी, संविधानसभा सदस्य मोहन टुडू, सन्थाल समुदायका अग्रज शिक्षक बडाराम हेमरम लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा सन्थाल समुदायको अस्तित्व रक्षा हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया