विकास निर्माण कार्य पूरा गर्न विजयी सुनिश्चित : सञ्चारमन्त्री कार्की

  कार्तिक २६, २०७९

मोरङ, कात्तिक २६ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निर्माणाधीन विकासका कार्यलाई पूरा गर्न जनताले आफ्नो विजयी सुनिश्चित गराएको बताउनुभयो ।

सुनसरीको हरिनगरा गाउँपालिका–५ वसन्तपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासका पूर्वाधार निर्माण कार्यलाई पूरा गर्न चुनावी जनलहर आफ्नो पक्षमा रहेको दाबी गर्नुभयो ।

मन्त्री कार्कीले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यलगायत विकासका पूर्वाधार निर्माणमा उल्लेखनीय काम गरेको जानकारी दिनुभयो । उहाँले विगत पाँच वर्षको अवधिमा यस क्षेत्रमा सुरु गरेको कतिपय विकास निर्माण तथा पूर्वाधारका योजनालाई पूर्णता दिन पनि यस क्षेत्रबाट पुनः उम्मदवारी दिएको प्रष्ट पार्नुभयो । मन्त्री कार्कीले “जनताका रहेका समस्या समाधान गरेकाले जनता आफ्नो पक्षमा रहेका छन्” भन्नुभयो ।

संविधानको रक्षा, सबै जातीय समुदायको हकअधिकार स्थापना गरी मुलुकको समृद्धिका लागि निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन उहाँले आग्रह गर्नुभयो । मन्त्री कार्कीले कृषकलाई आफ्नो उत्पादन वृद्धि गर्न सहजरुपले मलखाद, बीउबिजनको व्यवस्था गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया