देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्छ : पूर्वसभामुख घर्ती

  कार्तिक २५, २०७९

काठमाडौँ, कात्तिक २५ : नेकपा (माओवादी केन्द्र) की नेत्री एवं पूर्वसभामुख ओनसरी घर्तीले देशमा शान्ति र समृद्धि गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउनुभएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार घर्तीले आज यहाँ आयोजित घरदैलो कार्यक्रममा देशमा शान्ति, समृद्धि, स्थिर सरकार र संविधानको रक्षा गठबन्धनले मात्र पूरा गर्न सक्ने बताउनुभएको हो ।

“संविधानको रक्षा गर्दै जनताका आधारभूत आवश्यकतालाई सहज बनाउने काम गठबन्धनबाट मात्र सम्भव छ, आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारले जित्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।

नेत्रृ घर्तीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर दुईपटक संसद् विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको बताउनुभयो ।

अहिलेको व्यवस्था जोगाउन गठबन्धनका उम्मेदवारले जित्नुपर्ने उहाँको भनाइ थियो । उहाँले विगत पाँच वर्षमा जनप्रतिनिधिबाट मतदाता सन्तुष्ट नभएको पाइएको बताउँदै आगामी पाँच वर्षमा जनताको आवश्यकतालाई पूरा गर्न आफू लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया