भक्तपुर, कात्तिक २५ : आगामी पाँच वर्षका लागि देश हाँक्ने नेतृत्व चुन्ने महामेलाका रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन मात्र नौ दिन बाँकी छ । मङ्सिर ४ गते आफूले रोजेको नेतालाई मतदान गर्ने दिन नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नं २ यस पटकको निर्वाचनमा निकै चर्चामा रहेको छ ।
भक्तपुरमा क्षेत्र नं १ मा भन्दा पनि क्षेत्र नं २ को चासो यहाँका बासिन्दाले लिइरहेका छन् । आममतदाताको मुखबाट एउटै शब्द निस्कन्छ, यस पटक क्षेत्र नं २ मा कडा टक्कर छ ।
प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट यस निर्वाचनमा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा र नेकपा ९एमाले० को तर्फबाट महेश बस्नेतबीच यो निर्वाचन निकै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । घरदैलो कार्यक्रम, टोल भेला, भेटघाटदेखि सामाजिक सञ्जालमा हुने प्रचारप्रसारसमेतमा यो दुई समूहबीच निकै प्रतिस्पर्धा चलेको छ ।
क्षेत्र नं २ मा नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, अन्य स्वतन्त्रबाट उम्मेदवारी दिए पनि आममतदाता र जनतामा एउटै चासो छ, यस पटक भक्तपुर क्षेत्र नं २ मा कसले बाजी मार्ला रु मङ्सिर ४ नजिकिँदै गर्दा यहाँका चुनावी माहोल निकै तातेको छ ।
विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसलाई दोब्बर मतले पराजित गरेका एमालेका बस्नेतलाई यस पटक गठबन्धनको तर्फबाट उम्मेदवार रहेका थापा निकै चुनौती र प्रतिस्पर्धी भएर खडा भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिएका कांग्रेस जिल्ला सभापति थापा र एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिएका बस्नेतबीचको प्रतिस्पर्धा भक्तपुरमा मात्रै नभई देशभरि नै चासोको विषय बनिरहेको छ ।
यसअघिनै कांग्रेसको भेलामा प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवाले ‘भक्तपुरबाट थापालाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु’ भनेर वचन दिनुभएको छ । यता एमाले अध्यक्ष ओलीले पनि एमालेको सरकार बन्ने अवस्था सृजना भएमा बस्नेतलाई गृह वा भौतिक योजना मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने बताउनुभएको छ ।
नेपाली कांग्रेस र एमालेबीचको यो प्रतिस्पर्धामा यस पटक कांग्रेसलाई एमालेबाट फुटेर गएको नेकपा ९एकीकृत समाजवादी० र नेकपा ९माओवादी केन्द्र०को साथ रहेकाले एमाले उम्मेदवार बस्नेतका लागि गठबन्धनका उम्मेदवार थापा कडा प्रतिस्पर्धीका रूपमा उभिनुभएको छ ।
भक्तपुर क्षेत्र नं २ मा मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका गरी दुई पालिकाका मतदाता रहेका छन् । यस क्षेत्रमा अहिले ४४ हजार आठ सय ४४ पुरुष र ४७ हजार ६२ महिला तथा अन्य पाँच जना गरी कूल ९१ हजार नौ सय ११ मतदाता रहेका छन् ।
यस्तो छ अङ्कगणित
विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुङ्गानालाई पराजित गर्दै एमालेका नेता बस्नेत निर्वाचित हुनुभएको थियो । त्यस निर्वाचनमा बस्नेतले ३६ हजार ४१२ मत ल्याउदा ढुङ्गानाले १८ हजार ६७५ मतमा चित्त बुझाउनुपरेको थियो ।
गत स्थानीय तहको निर्वाचनमा यहाँका दुई पालिकाको मतको आधारलाई हेर्ने हो भने एमालेको भन्दा गठबन्धनको भोट बढी छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले २५ हजार ७६४, नेकपा (एमाले) ले २४ हजार २८६, नेपाल मजदूर किसान पार्टीले चार हजार ९२५, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार हजार १७२, नेकपा (एस)ले एक हजार २०२ र नेकपा (माओवादी केन्द्र) ले एक हजार ४५ भोट प्राप्त गरेका थिए ।
विसं २०७४ सालको निर्वाचनलाई विश्लेषण गर्दा एमालेका उम्मेदवार बस्नेत अगाडि देखिए पनि स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्दा गठबन्धनसहित कांग्रेसका उम्मेदवार थापा दुई हजार बढी मतले अगाडि हुनुहुन्छ ।
त्यसैले पनि दुवै नेताबीच कडा टक्कर रहेको बताइएको छ । त्यसो त यसअघि भक्तपुर क्षेत्र नं २ मा दुई पटक नेमकिपाका नेता सुनिल प्रजापतिले र दुई पटक नेपाली कांग्रेसका नेता लेखनाथ न्यौपाने र रामेश्वर ढुङ्गेल र २०७४ मा एमालेबाट बस्नेत विजयी हुनु भएको थियो ।
को को छन् उम्मेदवार
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ मात्रै विभिन्न दल र स्वतन्त्रले गरी २५ जनाले उम्मेदवारी दिएका छन् । यद्यपि नेपाली कांग्रेस सभापति थापा र एमाले पोलिटब्यूरो सदस्य बस्नेतबीचनै कडा टक्कर रहेको निश्चित छ ।
यस निर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसका थापा, एमालेबाट बस्नेत, जनता समाजवादी पार्टीबाट दिलबहादुर तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोहन केसी, नेपाल मजदुर किसान पार्टीबाट अनुराधा थापा मगर, मौलिक जरोकिलो पार्टीबाट लीलाबहादुर बानियाँ, हाम्रो नेपाल पार्टीबाट लोकेन्द्र पोखरेल, नेपालका लागि नेपाल पार्टीबाट राजेश बाडेले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु नापित, नेपाल विवेकशील पार्टीबाट शशिविक्रम शाह, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजु श्रेष्ठ, नेसनलिस्ट पिपुल्स पार्टीबाट शिवलाल रोकाया, आमूल परिवर्तन मसिहा पार्टीबाट सन्तबहादुर लकाज, नेपाल आमा पार्टी (एकल चुनाव चिह्न) बाट इन्द्रनारायण न्हुछें श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट साजन विकले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै स्वतन्त्रबाट मीनाकुमारी बाला, कल्पदीप राई, सुमन कार्की, सुवर्ण थापा, मोक्टो तामाङ, रञ्जु केसी, प्रमिला थापा, दिनेश प्रजापति, चम्पा बोगटी, उमेश श्रेष्ठ र आनन्द कार्कीले उम्मेदवारी दिनुभएको छ ।
के भन्छन् उम्मेदवार
कांग्रेसका उम्मेदवार थापा यसपटक एमालेका उम्मेदवार बस्नेतलाई धेरै मतान्तरले हराउने दाबी गर्नुहुन्छ । उहाँले एमाले प्रतिगामी तत्व भएको, बस्नेतले भक्तपुरमा अधिनायकवाद लादेको तथा विकासको नाममा भ्रष्टाचार गरेको आरोप लगाउनुभयो । एमालेभित्रको आन्तरिक विवाद रहेकाले एमालेबाट समेत आफूलाई भोट आउने उहाँको दाबी छ ।
उहाँले जनताको चाहनाअनुरुपको विकास, भ्रष्टाचारको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । नेता थापाले मतदाताको आधारभूत आवश्यकता पूरा गर्ने गरी काम गर्ने बताउँदै अझै पनि संविधानले ग्यारेन्टी गरेका अधिकार स्थापित हुन नसकेकोले त्यस्ता अधिकार स्थपित गराउने, जनताको अधिकार पूर्ण गर्नेमा केन्द्रित हुने, जनताले महसुस गर्ने गरी विकास गर्ने र कसैप्रति विभेद नगर्ने उल्लेख गर्नुभयो ।
एमालेका उम्मेदवार बस्नेतले भने यसपटक पहिलेभन्दा तेब्बर मतको अन्तरले आफूले चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले अहिलेसम्म भक्तपुरमा हुन नसकेको विकास आफ्नो पाँच वर्षे कार्यकालमा गरेको भन्दै भक्तपुरको विकास, मौलिक सम्पदा, संस्कृतिको संरक्षण र सम्बद्र्धन, नयाँ बस्ती र पुरानो बस्तीबीच विभेदको अन्त्यका लागि आफूले गरेको काम र सधैँ जनतासँग साक्षात्कार रहेकाले पनि गठबन्धनभन्दा तेब्बर मतको अन्तरले जित्ने बताउनुभयो ।
उहाँले भूकम्पदेखि कोरोना महामारीसम्म, सडक, पुल, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल निर्माणदेखि जनताको समस्या समाधानमा समेत आफूले विगत पाँच वर्षमा काम गरेको र अब पाँच वर्षमा भक्तपुरमा यो बाँकी छ भन्नुपर्ने अवस्था नआउने गरी विकासको काम गर्ने वाचा गरेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका उम्मेदवार अनुराधा थापा मगर भने देश र राष्ट्रियताको पक्षमा उभिने पार्टी आफ्नो पार्टी मात्रै रहेको दाबी गर्दै एमसीसी, एसपीपी, नागरिकता विधेयकको विरोध गर्ने पार्टी नेमकिपा मात्रै भएकाले नेमकिपालाई जनताले भोट दिने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभातर्फको यस्तो छ अवस्था
भक्तपुर क्षेत्र नं २ का २ वटा प्रदेशसभामा पनि सत्ता गठबन्धन र एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । सत्तारूढ गठबन्धनबाट (१) मा कांग्रेसका विष्णुुराज कार्की र (२) नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रमान श्रेष्ठ चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट भने प्रदेशसभा (१) मा किरन थापा मगर र (२) मा चन्दनकृष्ण श्रेष्ठले गठबन्धनसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
त्यस्तै भक्तपुर क्षेत्र न २ (१) मा नेपाल मजदुर किसान पार्टीबाट सरोजराज गोसइ, राप्रपाबाट विक्रम थापा र जसपाबाट सुवास लामा तथा (२) मा नेमकिपाबाट रमेश वैद्य, राप्रपाबाट पञ्चकृष्ण श्रेष्ठ र जसपाबाट मीना सुचिकार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।






