प्रचण्डलाई जुत्ता प्रहार भएको समाचारप्रति सचिवालयको आपत्ति

  कार्तिक २३, २०७९

काठमाडौँ, कात्तिक २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले ‘प्रचण्डलाई जुत्ता प्रहारको प्रयास’ समाचारप्रति आपत्ति जनाएको छ ।

मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि फर्कने क्रममा उनीमाथि जुत्ता प्रहारको प्रयास भएको समाचार सञ्चारमाध्यममा आएका थिए ।

प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले बताएको थियो । तर, प्रचण्ड सचिवालयले भने सुर्खेतबाट काठमाडौं उडिसकेपछि भ्रम फैलाइएको भन्दै भत्र्सना गरेको छ ।

‘‘हिजो कात्तिक २२ गते कर्णाली प्रदेशका विभिन्न जिल्लाहरू जुम्ला, हुम्ला, कालिकोट र सुर्खेतमा समेत अध्यक्ष कमरेड प्रचण्ड, नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायतका नेतृत्वको उपस्थितिमा विशाल जनसहभागितासहित गठबन्धनका चुनावी सभाहरू सम्पन्न भएका थिए,’ प्रचण्ड सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेड प्रचण्ड सुर्खेतबाट काठमाडौं उडिसकेपछि फैलाइएको यसप्रकारको झुठो, भ्रामक र कपोलकल्पित समाचारको भर्त्सना गर्दछौँ ।’

तपाईको प्रतिक्रिया