संविधानले दिएका अधिकार कार्यान्वयका लागि दलहरू एक हुनुपर्छ : नेता साउद

  कार्तिक २२, २०७९

दोधारा चाँदनी, कात्तिक २२ : नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एनपी साउदले संविधानले दिएका अधिकार कार्यान्वयनका लागि सबै दल एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

मङ्गलबार वेदकोट नगरपालिका–९ स्थित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्र निर्माण र संविधान कार्यान्वयनका लागि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

“दलहरूका विचार फरक भए पनि मुलुकको हितका लागि सबै एक ठाउँमा आउन जरुरी छ”, उहाँले भन्नुभयो, “संविधानमाथि कसैले प्रहार ग¥यो भने पनि एक ठाउँमा आउनुपर्छ त्यसैले अहिले संविधानको रक्षाका लागि गठबन्धन बनेको छ ।” उहाँले दुईवटा संविधानसभाबाट संविधानमा लिपिबद्ध नागरिकका अधिकारको कार्यान्वयनका लागि सबै दल एकजुटु हुनुको विकल्प नभएको बताउनुभयो ।

“संविधानले दिएका अधिकार अहिलेसम्म पनि कार्यान्वयन हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “संविधान बनाउने निर्णायक शक्ति कांग्रेस र माओवादीको काँधमा फेरि संविधान कार्यान्वयनको जिम्मेवारी आएको छ त्यसैले यो गठबन्धन बनेको हो ।” उहाँले गठबन्धन कसैलाई चुनाव हराउनका लागि नभएको बताउनुभयो ।

“गठबन्धनबाट बहुमत प्राप्त हुन्छ, बहुमत आए स्थिर सरकार बन्छ, स्थिर सरकार बने मुलुकमा शान्ति स्थापित हुन्छ”, उहाँले भन्नुभयो, “शान्ति स्थापित भएपछि मात्रै विकास सम्भव छ, विकास भएपछि मात्रै मुलुकले समृद्धि हासिल गर्छ ।”

नेता साउदले यहाँ रहेका आरक्ष पीडितका समस्या समाधान, दैजी छेला औद्योगिक क्षेत्र निर्माण अघि बढाउने र डुबान कटानका समस्या समाधान गर्ने बताउँदै आफूलाई मत दिन आग्रह गर्नुभयो । “वर्षौंदेखि निर्माण सम्पन्न हुन नसकेका सडक निर्माण गर्न र बाढी नियन्त्रण गर्न म प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “सबै विकास निर्माणका काम गर्न कांग्रेस माओवादी एक भएका हौँ ।”

तपाईको प्रतिक्रिया