नेता पौडेलद्वारा मतदाताको गुनासो र सुझाव लिन हटलाइन

  कार्तिक २०, २०७९

काठमाडौँ, कात्तिक २० : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गर्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधीसभा उम्मेदवारसमेत रहनुभएका पौडेलले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आज हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गर्नुभएको हो ।

नेता पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उहाँहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिनुभयो ।

“हटलाइनबाट आएका गुनासो र सुझाव काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि मार्गदर्शन बन्नेछ, त्यहीँ गुनासो र सुझावलाई आत्मासाथ गर्दै अगाडि बढ्नेछु”, नेता पौडेलले भन्नुभयो ।

सार्वजनिक हटलाइन नम्बरमा नेता पौडेलसहित काठमाडौँ क्षेत्र नं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गर्न सक्ने बताइएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ प्रदेश (१) मा भैरव सापकोटा र प्रदेशसभा (२) मा श्यामबहादुर खड्का उम्मेदवार बन्नुभएको छ ।

तपाईको प्रतिक्रिया