कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गर्छौँ : नेता लेखक

  कार्तिक १७, २०७९

दोधारा चाँदनी, कात्तिक १७ : नेपाली कांग्रेसका नेता एवं कञ्चनपुर क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश लेखकले कञ्चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकास गरिने बताउनुभएको छ ।

आज भीमदत्त नगरपालिका–१० स्थित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले कञ्चनपुरलाई दक्षिणतिर मित्रराष्ट्र भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट्र चीनसँग जोडेर देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रुपमा विकास गर्ने बताउनुभयो ।

“त्रिदेशीय नाका बनाउन हामीले महाकाली नदीमा चार लेनको पुल निर्माण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “यो पुल निर्माण त्यहीँ त्रिदेशीय नाका बनाउनका लागि हो ।” उहाँले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बनाउनका लागि प्रक्रिया अघि बढीसकेको बताउनुभयो ।

“सुख्खा बन्दरगाह सम्म मित्रराष्ट्र भारतले पनि आफ्नो सडक जोड्छ र महाकाली किनार किनार सडक निर्माण गरेर चीनको तिब्बतलाई जोड्छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि भारतले पनि सहमति जनाइसकेको छ ।”

त्यसैगरी उहाँले अहिलेको गठबन्धन संविधान र व्यवस्था जोगाउनका लागि बनेको बताउनुभयो । “हामीले संविधान बनाउन धेरै झगडा गरेर समय बर्बाद गरेका छौँ । वर्षौ लगाएर संविधान र अहिलेको व्यवस्था ल्याएका छौँ”, उहाँले भन्नुभयो, “अब हामीले विकासका काम गर्नुपर्छ विकास गर्नका लागि हामी एक हुन जरुरी छ ।”

तपाईको प्रतिक्रिया