घरेलु श्रमिकमा युरोप जानेलाई तालिम अनिवार्य

  असोज ०१, २०७९

काठमाडौँ, असोज १ : सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो ।

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ । विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ ।

साउदीसँग छिट्टै श्रम समझदारी हुने
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुग्नुभएका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताउनुभएको थियो ।

सो अवसरमा उहाँहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभएको थियो । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गर्नुभएको थियो ।

भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया