काठमाडौँ, भदौ २६ : विकास निर्माणको प्रक्रियामा दिगोपनको खोजी गर्दै वैदेशिक लगानीलाई के कसरी बढी भरपर्दो र व्यवस्थित बनाउने भन्ने लक्ष्यका साथ लगानी बोर्डले यही भदौ २९ गते दिगो पूर्वाधार लगानी फोरमको आयोजना गर्ने भएको छ ।
लगानी बोर्डको सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले विकास निर्माणको काममा दिगोपन खोज्ने र हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाको निर्माण तथा लगानी प्रवद्र्धन गर्ने लक्ष्यका साथ सो फोरमको आयोजना गरिएको जानकारी दिनुभयो ।
नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जिरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोसेढुङ्गा साबित हुने आफूहरुले अपेक्षा गरेको उहाँको भनाइ छ ।
कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता-निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ-विशेषज्ञ, सञ्चार क्षेत्रलगायत सरोकारवाला साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्व, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञको सहभागिता उक्त फोरममा हुनेछ ।
कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट हुनेछ । कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पिपिपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाका बारेमा विज्ञ बीचमा सैद्धान्तिक बहस हुने बोर्डका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो ।
रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यावसायिक निर्देशिका (बिजनेस गाइड) सार्वजनिक गरी गत वर्ष बोर्डले दसौँ वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा फोरमले रणनीतिक योजनाको उद्देश्य हासिल गर्नसमेत सार्थक हुने अपेक्षा गरिएको छ । उद्घाटन सत्रसहित परियोजना बैंक, नेटवर्किङ एवं स्टलसम्बन्धी जानकारीसमेत त्यस अवसरमा प्रदान गरिनेछ ।






