विश्वभर १८ लाख ६७ हजार संक्रमित, एक लाख १५ हजारको मृत्यु

  बैशाख ०१, २०७७

पेरिस, वैशाख १ : कोरोनाभाइरसबाट विश्वभर संक्रमितको व्यक्तिको संख्या १८ लाख ६७ हजार १३० पुगेको विभिन्न स्रोतहरूबाट एएफपीले प्राप्त गरेको सूचनाबाट पुष्टि भएको छ । संक्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १५ हजार २७९ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिका
उत्तर अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या सोमबार साँझसम्म पाँच लाख ९८ हजार ८९३ पुगेको छ भने यहाँ यस भाइरसका कारण मृत्यु हुनेको संख्या २३ हजार ५०९ रहेकोे छ । संयुक्त राज्य अमेरिकामा मात्रै पाँच लाख ६० हजार ४३३ संक्रमित रहेका छन् भने यहाँ मृत्यु हुनेको सङख्या २२ हजार ११५ छ ।

क्यानडामा संक्रमितको संख्या २४ हजार ३८३ छ भने ७१७ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा चार हजार ६६१ जना संक्रमित छन् भने २९६ जनाको मृत्यु भएको छ । अन्य बढी प्रभावित मुलुकहरूमा पानामा र डोमिनिकन रिपब्लिक रहेका छन् ।

दक्षिण अमेरिका
दक्षिण अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या ५० हजार ७८४ रहेको छ भने यस संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई हजार १०८ रहेको छ । यस महादेशमा सबैभन्दा बढी संक्रमित ब्राजिलमा रहेका छन् ।

ब्राजिलमा २२ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ भने यसबाट एक हजार २४१ जनाको मृत्यु भएको छ । ब्राजिलपछि दक्षिण अमेरिकी मुलुकहरू पेरू, इक्वेडर र चिलीमा संक्रमितको संख्या सात हजारभन्दा बढी रहेको छ भने ती मुलुकहरूमा मृत्यु हुनेको संख्या क्रमशः १९३, ३३३ र ८० रहेको छ । यस्तै कोलम्बियामा कोभिड–१९ का कारण दुई हजार ७७६ संक्रमित भएका छन् भने यहाँ मृत्यु हुनेको संख्या १०९ रहेको छ । अर्जेन्टिनामा दुई हजार २०८ जना संक्रमित रहेकोमा ९५ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

यूरोप
विश्वमा कोभिड–१९ बाट सबैभन्दा बढी संक्रमित भएका छन् । यूरोपमा कूल संक्रमितको संख्या आठ लाख ९१ हजार १०२ रहेको छ भने यहाँ ७७ हजार ६०१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । यूरोपको स्पेनमा संक्रमितको संख्या सबैभन्दा बढी एक लाख ६९ हजार ४९६ रहेको छ भने यहाँ संक्रमणका कारण १७ हजार ४८९ जनाले ज्यान गुमाएका छन् । स्पेनमा संक्रमणपछि निको भएर घर फर्किनेको संख्या ६४ हजार ७२७ रहेको छ ।

स्पेनपछि बढी संक्रमित रहेको यूरोपेली मुलुक इटलीमा एक लाख ५६ हजार ३६३ जना संक्रमित रहेका छन् भने यहाँ संक्रमणका कारण १९ हजार ८९९ जनाको मृत्यु भएको छ । संक्रमणका कारण इटलीमा मृत्यु हुनेको संख्या स्पेनमा भन्दा बढी रहेको छ ।

तेस्रो प्रभावित मुलुक फ्रान्समा कोभिड–१९ बाट एक लाख ३२ हजार ५९१ जना संक्रमित रहेकोमा १४ हजार ३९३ जनाले ज्यान गुमाएका छन् । यहाँ निको भएर घर फर्किनेको संख्या २७ हजार १८६ रहेको छ ।

त्यस्तै जर्मनीमा एक लाख २७ हजार ८५४ संक्रमित रहेका छन् भने यस संक्रमणका कारण तीन हजार २२ जनाको मृत्यु भएको छ । जर्मनीमा निको भएर घर फर्किनेको संख्या ६४ हजार ३०० रहेको छ ।

अर्को बढी प्रभावित यूरोपेली मुलुक संयुक्त अधिराज्य (बेलायत) संक्रमित ८४ हजार २८९ रहेको छ भने यसका कारण मृत्यु भएकाको संख्या १० हजार ६१२ रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड र रूस रहेका छन् । यूरोपका कतिपय मुलुकहरूमा यो सातादेखि संक्रमणका कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ ।

एसिया
एसियामा कोभिड–१९बाट संक्रमित हुनेको संख्या सोमबार साँझसम्म तीन लाख तीन हजार ४७ रहेको छ भने ११ हजार १९५ जनाको मृत्यु भएको छ ।

एसियामा कोभिड–१९बाट सुरूमा सबैभन्दा बढी प्रभावित मुलुक चीन हो । यद्यपि यहाँ कोरोना भाइरसबाट सन् २०१९ को डिसेम्बरपछि करिब मार्च महिनाको मध्यसम्म संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको भएपछि त्यसपछि यहाँ यो दर लगभग नियन्त्रणको अवस्थामा देखिएको छ । चीनमा पछिल्ला केही दिनमा संक्रमितको संख्या बढेको भनिए पनि निकै कम संक्रमित रहेका छन् ।

चीनमा कोभिड–१९बाट संक्रमितको संख्या ८२ हजार १६० रहेको छ भने तीन हजार ३४१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । चीनमा निको भएर घर फर्किएका विरामीको संख्या ७७ हजार ६६३ रहेको छ ।

चीनमा सुरूमा संक्रमणका कारण बढी प्रभावित देखिए पनि एसियाली मुलुक इरान पछिल्लो समय संक्रमण बढी प्रभावित मुलुक हो । इरानमा कूल संक्रमितको संख्या ७३ हजार ३०३ रहेकोमा यसका कारण चार हजार ५८५ जनाको मृत्यु भएको छ । इरानमा निको भएर घर फर्किनेको संख्या ४५ हजार ९८३ जना निको भएर घर फर्किएका बताइएको छ ।

इरानपछि बढी प्रभावित मुलुकहरूमा इजरायल, दक्षिण कोरिया, भारत जापान र पाकिस्तान रहेका छन् । इजरायलमा संक्रमित (११ हजार २३५) र संक्रमणका कारण मृत्यु हुनेको संख्या (११०) रहेको छ ।

दक्षिण कोरियामा १० हजार ५३७ संक्रमित र २१७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यहाँ निको भएर घर फर्किएकाको संख्या सात हजार ४४७ रहेको छ । दक्षिण कोरियामा मार्चको मध्यतिर संक्रमितको संख्या अत्यधिक बढ्दो क्रममा देखिएको भए पनि पछिल्ला दिनमा यहाँको संक्रमण दर न्यून देखिएको छ ।

भारतमा पछिल्ला दिनहरूमा संक्रमितको संख्या बढ्ने क्रम देखिएको र अहिलेसम्ममा कूल नौ हजार २४० जनामा संक्रमण पुष्टि भएको छ भने ३३१ जनाको मृत्यु भएको छ । भारतमा एक हजार ९६ जना निको भएर घर फर्किएका छन् ।

जापानमा सात हजार ३७० जनामा संक्रमण देखिएको छ भने १२३ जनाको मृत्यु भएको छ । जापानमा निको भएर घर फर्किनेको संख्या ७८४ रहेको छ ।

पाकिस्तानमा कोरोनाभाइरसका कारण पाँच हजार ३७४ जना संक्रमित रहेका छन् भने ९३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

त्यस्तै अन्य प्रभावित मुलुकहरू संक्रमितको संख्या सुरूवाती अवस्थामा रहेको देखिएको छ । साउदी अरबमा चार हजार ९३४, फिलिपिन्समा चार हजार ९३२, मलेसिया चार हजार ८१७, इन्डोनेसिया चार हजार ५५७, यूएईमा चार हजार १२३, कतारमा तीन हजार २३१ संक्रमित रहेको बताइएको छ ।

दक्षिण एसियाली मुलुकहरूमा भारत र पाकिस्तान बाहेक अन्य मुलुकमा संक्रमितको संख्या खासै ठूलो देखिएको छैन । बंगलादेशमा ८०३, श्रीलंका २१४, भूटान पाँच, नेपाल १४, अफगानिस्तान ६६५, मालदिभ्स २० जना संक्रमित रहेका छन् ।) बंगलादेशमा ३९, अफगानिस्तानमा २१, र श्रीलंका सात जनाको मृत्यु भएको छ ।

अफ्रिका
अफ्रिकामा समग्रमा १५ हजार २१० जनामा संक्रमण रहेको र ७९५ जनाको मृत्यु भएको छ । यहाँका बढी प्रभावित मुलुकहरूमा दक्षिण अफ्रिका, इजिप्ट, अल्जेरिया र मोरक्कोमा एक हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

ओसेनिया
यहाँको सबैभन्दा बढी प्रभावित मुलुक अस्ट्रेलियामा छ हजार ३५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ६१ जनाको मृत्यु भएको छ । न्यूजिल्याण्डमा एक हजार ३४९ जना संक्रमित छन् भने पाँच जनाको मृत्यु भएको छ । अन्य मुलुकमा संक्रमितको संख्या एक वा दुई अंकमा सीमित रहेको छ ।

तपाईको प्रतिक्रिया