काठमाडौं, साउन १४ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गर्नुभएको छ । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो। दाहालले भन्नुभयो, ‘‘मलाई भन्नुहुन्छ भने यो मेरो ‘लास्ट इनिङ’ होस्। यो ‘लास्ट इनिङ’मा पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको उल्लेख गर्नुभयो। उहाँले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताउनुभयो। अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गर्नुभयो।
उहाँले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिनुभयो। अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा.बाबुराम भट्टराई माओवादी नभएको दाबी गर्नुभयो। उहाँले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी (माओवादी केन्द्र) मात्रै रहेको जिकिर गर्नुभयो। दाहालले भन्नुभयो, ‘‘माओवादी भनेको माओवादी केन्द्र मात्रै हो। अरुमाओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो। किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन। बाबुराम त माओवादी नै होइनन्। तिनको हिसाब नै भएन।’’
अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीले राजनीतिमा बुढापाका चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गर्नुभयो। उहाँले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गर्नुभयो।
अध्यक्ष दाहालले भन्नुभयो, ‘‘आउने प्रदेश र संघको निर्वाचनमा स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर हामी तालमेल गर्दा पनि हामी पहिलो हुने हो। कम्तिमा पनि ‘लेट मुभमेण्ट’को पहिलो हुने पूरै सम्भावना छ। मैले नेपाली कांग्रेसका नेतालाई भनेको छु। अहिले पहिलो पार्टी त तपार्इंहरु नै हुने देखियो। तर, माओवादी दोस्रो हुनुपर्छ। त्यसमा सहयोग गर्ने हो भने सबै सहयोग हुन्छ नत्र हुँदैन भनेको छु।’’
अध्यक्ष दाहालले माओवादीले किसान लक्षित उत्पादन वृद्धि गर्ने बजेट ल्याएको बताउनुभयो। उहाँले किसानलक्षित बजेट ल्याएका कारण प्रतिक्रियावादी, बुर्जुवा र दलाल आत्तिएर आफूमाथि विभिन्न आरोप लगाइरहेको बताउनुभयो। अध्यक्ष दाहालले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्न र एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई पठाउन माओवादीका कारण सम्भव भएको उल्लेख गर्नुभयो।
उहाँले माओवादीमाथि आरोप लगाएर जनतालाई भ्रमित पार्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभयो। दाहालले देश विकास गर्नेकुरा माओवादी बिना सम्भव नरहेको उल्लेख गर्दै आउने तीन महिना माओवादीका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो। उहाँले देशको राजनीतिक मानचित्र बदल्नसक्ने तागत माओवादीसँग मात्रै रहेको भन्दै आफैँ परिवर्तनको मालिक हुने गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो।






