तनहुँ, असार १२ : नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले राजनीतिक स्थायित्वको लागि प्रत्यक्ष निर्वाचन प्रणाली आवश्यकता देखिएको बताउनु भएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ द्वारा आइतबार शुक्लागण्डकी- ४ दुलेगौँडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
‘‘प्रत्यक्ष निर्वाचन प्रणालीबाटै दलित, महिला, अल्पङ्ख्यकको उचित प्रतिनिधित्व कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरौँ होइन भने, कुनै एकल पार्टीको बहुमत सरकार नबन्ने हो’’, थापाले भन्नुभयो ।
अनिवार्य रुपमा गठबन्धन वा तालमेलमा जानुपर्ने महामन्त्री थापाको भनाइ थियो। सरकार निर्माणको लागि गठबन्धन र तालमेल भनेको भागबण्डा मात्र हो भन्दै गइयो भने नेपालको राजनीतिक व्यवस्थामाथि नै लगातार जनविश्वास गुम्दै जाने उहाँको भनाई थियो ।
उम्मेदवारको अलमल हटाउन साउनमै गठबन्धनको टुङ्गो लगाइने बताउनुभयो । ‘‘कुन क्षेत्रमा लड्ने भन्ने अलमल हटाउन साउनको अन्तिम सातासम्ममा उम्मेदवार हुने वा नहुने टुङ्गो लगाउँछौं’’, महामन्त्री थापाले भन्नुभयो ।
सङ्घ तथा प्रदेशको चुनावको असारको अन्तिममा मिति घोषणा हुने र कात्तिक ३० निर्वाचन गर्ने तयारी रहेको जानकारी दिँदै महामन्त्री थापाले चुनाव लड्ने क्षेत्रको अलमल हटाउनमा साउमै टुङ्गो लगाइने बताउनुभयो ।






